यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना जारी छ।
पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिनुभयो। मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए।
समानुपातिकतर्फको मतगणना सकिएपछि समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि सुरु हुने आयोगले जनाएको छ। केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ।
यसैबीच समानुपातिक निर्वाचनतर्फ एक करोड सात लाख ६९ हजार ५४३ मत गणना भएको निर्वाचन आयोगले जनाएको छ। गणना भएकोमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ४८ हजार २१७ सहित अग्रता कायम गरेको छ। यो कुल मतको करिब ४८ प्रतिशत मत हो।
नेपाली कांग्रेसले १७ लाख ५४ हजार ३९५, नेकपा (एमाले) ले १४ लाख ५१ हजार ९५६, नेपाली कम्युनिष्ट पार्टीले आठ लाख ९ हजार ७१, श्रम संस्कृति पार्टीले तीन लाख ८५ हजार ६८२ र राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ३० हजार ८२ मत हासिल गरेका छन्।
अन्य दलहरु भने थ्रेसहाल्ड कटाउने स्थितिमा देखिएका छैनन्।
(*मतगणना जारी रहेकाले यसअघिको समाचार सम्पादन गरिएको छ- सम्पादक)
प्रकाशित: २७ फाल्गुन २०८२ ११:५६ बुधबार