नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ को निर्वाचन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएको छ।
क्षेत्र नम्बर २ का विभिन्न पदका उम्मेदवारहरूले निर्वाचन प्रक्रियामा धाँधली भएको र भ्रामक सूचना सम्प्रेषण गरिएको आरोप लगाउँदै बाँकी निर्वाचन प्रक्रिया तत्काल सुचारु गर्न केन्द्रीय निर्वाचन समितिसँग माग गरेका छन्।
उम्मेदवारहरूले २०७८ असोज १४ गते केन्द्रीय निर्वाचन कार्यालय, सानेपा, ललितपुरमा दर्ता गराएको निवेदनमा जिल्लास्थित निर्वाचन समिति तथा केही व्यक्तिहरूको कार्यशैलीप्रति आपत्ति जनाएका छन्।
उम्मेदवारहरूका अनुसार असोज १२ गतेका लागि तय गरिएको निर्वाचन कार्यतालिकाअनुसार आवश्यक कागजात, दस्तुर बुझाउने तथा उम्मेदवारी दर्तालगायतका प्रक्रिया पूरा भइसकेको थियो। त्यसपछि अन्तिम नामावली प्रकाशन गर्नुपर्नेमा सहमतिको प्रयास गर्ने भन्दै नामावली प्रकाशन रोकिएको उनीहरूको दाबी छ।
तर, कुनै पनि उम्मेदवारसँग सम्पर्क तथा सहमति नगरी असोज १२ गते साँझ ६ बजे नै विद्युतीय सञ्चार माध्यममार्फत सम्पूर्ण निर्वाचन प्रक्रिया सम्पन्न भएको भन्दै सूचना सम्प्रेषण गरिएको उनीहरूको आरोप छ।
उम्मेदवारहरूले उक्त सूचना भ्रामक भएको दाबी गर्दै नेपाली कांग्रेसको विधान, निर्वाचन सञ्चालन ऐन तथा प्रचलित कानुनविपरीत भएको बताएका छन्। उनीहरूले यस्तो प्रक्रियालाई बदर गरी विधानअनुसार बाँकी निर्वाचन प्रक्रिया अघि बढाउन माग गरेका छन्।
निवेदनमा उम्मेदवारहरूले निर्वाचन प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्ने र सबै उम्मेदवारलाई समान अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका छन्। साथै, जिल्ला निर्वाचन समितिमार्फत रोकिएको बाँकी निर्वाचन प्रक्रिया निष्पक्ष र विधानसम्मत रूपमा सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिसँग आग्रह गरिएको छ।
निवेदनमा महाधिवेशन प्रतिनिधि खुला, जनजाति, खसआर्य, दलित, महिला, युवा, श्रमिकलगायत विभिन्न समूह तथा पदका उम्मेदवारहरूले हस्ताक्षर गरेका छन्।
हस्ताक्षर गर्नेमा प्रकाश थापा, जयकुमार लामा, निराजन लुइँटेल, महेशराज पौडेल, विजय गौतम, रितेन ढकाल, अनिता बजगाईं, उद्धवप्रसाद नेपाल र सहदेव तिमल्सिनालगायत रहेका छन्।
प्रकाशित: १४ आश्विन २०८३ १३:०६ बुधबार