राजनीति

अलपत्र सडकका ठेक्का तोडिन्छन्, नयाँ प्रक्रियाबाट काम अघि बढाइन्छ : मन्त्री लम्साल

भौतिक तथा पूर्वाधारमन्त्री सुनिल लम्सालले सडक निर्माणको ठेक्का लिएर वर्षौँसम्म काम नगरी आयोजना अलपत्र पार्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताएका छन्। 

मन्त्रालय तथा सडक विभागले सूचना जारी गर्दै अलपत्र सडकका ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइने मन्त्री लम्सालले बताएका हुन्। 

उनले वर्षौँसम्म काम नगरी अलपत्र पारिएका सडक आयोजनालाई निरन्तरता दिनुको सट्टा आवश्यक प्रक्रिया पूरा गरेर निर्माण अघि बढाउने नीति लिइएको बताएका छन्।  

यसैक्रममा इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई जोड्ने महत्त्वपूर्ण वैकल्पिक सडक मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरिएको छ। 

२०७८ असार २९ गते २७ करोड २२ लाख रुपैयाँ (भ्याटसहित) मा सम्झौता भएको उक्त सडक खण्डको निर्माण २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, पटक–पटक म्याद थप गरी कुल ६३ महिना समय उपलब्ध गराउँदासमेत आयोजनाको वित्तीय प्रगति ४५।२८ प्रतिशत र भौतिक प्रगति करिब ४७ प्रतिशत मात्र भएको थियो। 

निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि ठेक्का सम्झौता अन्त्य गरिएको हो। अधुरो सडक निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सुनिश्चित गर्नुका साथै बहुवर्षीय ठेक्का सहमति जुटाएर नयाँ ठेक्का प्रक्रिया शीघ्र अघि बढाइने जनाइएको छ। 

मन्त्री लम्सालले अलपत्र ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइने स्पष्ट पार्दै वर्षौँसम्म सडक निर्माण अलपत्र पार्ने प्रवृत्ति अब स्वीकार्य नहुने बताएका छन्। 

प्रकाशित: १२ कार्तिक २०८३ १७:०६ बिहीबार