प्रतिनिधिसभा सदस्य ऐन महरले भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे संसद्मा प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले मन्त्रीको उक्त अभिव्यक्ति कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा स्पष्टता खोजे। उनले व्यंग्यात्मक शैलीमा भने, ‘माननीय मन्त्रीज्यूले ठेकेदारलाई खुट्टा भाँच्नु भन्ने आदेश दिनुभएको थियो। त्यो कानुनबमोजिम थियो कि थिएन ? कुन दाहिने खुट्टा भाँच्नुपर्ने हो कि देब्रे खुट्टा भाँच्नुपर्ने हो, त्यो पनि अलिकति प्रष्ट आएन। त्यो माननीय मन्त्रीको हैसियतबाट दिन मिल्ने खालको आदेश हो कि होइन, यसबारे पनि प्रष्ट हुन आवश्यक छ।’
महरको प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री लम्सालले आफूले कसैलाई शारीरिक क्षति पुर्याउने आशयले उक्त अभिव्यक्ति नदिएको स्पष्ट पारे।
‘मेरो इन्टेन्सन कसैलाई भौतिक रूपमा क्षति पुर्याउने होइन। काम गरून् भन्ने मात्रै हो। ठेकेदारले काम नगरे टेन्डर रद्द गर्नुपर्छ, बैंक ग्यारेन्टी जफत हुन्छ, त्यसले उनीहरूको व्यवसाय नै संकटमा पर्न सक्छ,’ उनले भने।
मन्त्री लम्सालले ठेक्का रद्द हुँदा सरकारलाई मात्रै नभई निर्माण कम्पनी, बैंक तथा समग्र निर्माण क्षेत्रलाई असर पर्ने भन्दै ठेकेदारलाई काम सम्पन्न गर्न कडा भाषा प्रयोग गरिएको बताए।
‘हामी कसैलाई गाली गर्न चाहँदैनौँ। काम सुरु गरेर समयमै सम्पन्न गरिदिनुभयो भने हामी खुसी हुन्छौँ। हाम्रो उद्देश्य विकास निर्माणका काम समयमै सम्पन्न गराउनु हो,’ मन्त्री लम्सालले भने।
प्रकाशित: ४ असार २०८३ १५:४७ बिहीबार