प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले संविधान संशोधनको बहस सरकारी कार्यालयमा मात्रै सीमित रहन नहुने माग गरेका छन्।
संसद्मा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्। सांसद केसीले भने, ‘पूर्वप्रधानन्यायाधीशको संयोजकत्वमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ, नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न जरुरी छ।’
उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन गर्न अतिआवश्यक रहेको उनको भनाइ थियो।
उनले थप भने, ‘राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल हुँदैन। बृहत् राष्ट्रिय संवादबाट मात्र यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमति निर्माण गर्न सक्छ।’
यसरी दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वासका साथै राष्ट्रिय एकता मेलमिलापको आधार निर्माण गर्ने पनि स्पष्ट पारेका छन्।
प्रकाशित: १२ जेष्ठ २०८३ १२:३२ मंगलबार



