राजनीति

एमाले नेतालाई सान्त्वना दिँदै प्रधानमन्त्रीले भनिन्- एकपटकको जनमतले सधैँको हैसियत तोक्दैन

प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सघाएकोमा नेकपा एमालेलाई धन्यवाद दिँदै चुनावी नतिजाबाट विचलित नहुन सान्त्वना दिएकी छन्।

धन्यवाद ज्ञापन गर्न एमालेका शीर्ष नेताहरूलाई बालुवाटार आमन्त्रण गर्दै प्रधानमन्त्री कार्कीले राजनीति निरन्तरको अभियान भएको स्मरण गराइन्।

छलफलका लागि एमाले नेतात्रय ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला बालुवाटार पुगेका थिए।

भेटमा चुनावी हारजितलाई स्वाभाविक प्रक्रियाका रूपमा लिन आग्रह गर्दै प्रधानमन्त्रीले भारतीय राजनीतिज्ञहरूको उदाहरण पेस गरिन्।

‘एकैपटकको जनमतले सधैँका लागि पार्टीहरूको हैसियत निर्धारण गर्दैन,’ एमाले नेताहरूलाई ढाडस दिँदै प्रधानमन्त्री कार्कीले भनिन्, ‘भारतमा अटलविहारी बाजपेयी र इन्दिरा गान्धीका पालामा उहाँहरूका पार्टीले बेहोरेको उतारचढाव पनि देखेकै छौं। राजनीति निरन्तरको अभियान भएकाले देश र जनताका मुद्दा बोकेर लागिरहनुहोस्।’

कठिन राजनीतिक अवस्थालाई शान्तिपूर्ण रूपमा निकास दिने एकमात्र विकल्प निर्वाचन नै भएको उल्लेख गर्दै उनले एमालेले देखाएको राष्ट्रप्रतिको जिम्मेवारी र सहयोगी भूमिकाको प्रशंसा गरिन्।

‘राष्ट्रप्रतिको जिम्मेवारी सम्झेर यहाँहरूले जुन सहयोगी भूमिका खेलिदिनुभयो र निर्वाचनमा सक्रिय सहभागिता जनाइदिनुभयो, यसका लागि मुरीमुरी धन्यवाद दिन चाहन्छु,’ उनले भनिन्।

जवाफमा एमाले नेताहरूले मुलुकलाई कठिन घडीमा सर्वस्वीकार्य र लोकतान्त्रिक निकास दिएको भन्दै प्रधानमन्त्री नेतृत्वको सरकारलाई बधाई दिएका थिए।

उनीहरूले यसपटकको निर्वाचनमा सरकारी प्रशासन पूर्ण रूपमा निष्पक्ष रहेको भन्दै सरकारको कार्यशैलीको प्रशंसासमेत गरे। साथै, विगतका तुलनामा यसपटकको चुनावी अभियान बढी स्वस्थ, शान्तिपूर्ण र कम खर्चिलो भएको अनुभव उनीहरूले सुनाएका थिए।

यसअघि आइतबार मात्रै प्रधानमन्त्री कार्की पितृशोकमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई समवेदना दिन उनको निवास गुन्डु पुगेकी थिइन्।

प्रकाशित: ३ चैत्र २०८२ १९:२४ मंगलबार