राजनीति

जसपा नेपालले तोक्यो संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने पार्टी नेता

जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक मोर्चाको कार्यक्रममा सहभागी हुने पार्टी नेताहरूको टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले मोर्चाको उद्देश्य, आवश्यकता र औचित्यबारे जानकारी गराउन विभिन्न आठ स्थानमा मोर्चाले गर्न लागेको कार्यक्रममा पार्टीको तर्फबाट सहभागी हुने नेताको टुङ्गो लगाएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

मोर्चाको साउन १८ गते काठमाडौंको कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव सहभागी हुने छन् भने साउन २१ गते भैरहवाको कार्यक्रममा महासचिव रामकुमार शर्मा, साउन २३ गते नेपालगञ्जको कार्यक्रममा महासचिव लालबाबु राउत र साउन २५ गतेको कैलालीको कार्यक्रममा उपाध्यक्ष विद्युत बज्राचार्य सहभागी हुने छन्।

त्यसैगरी भदौ १६ गते विराटनगरको कार्यक्रममा सह–अध्यक्ष रकम चेम्जोङ, भदौ १८ गते राजविराजमा हुने कार्यक्रममा उपाध्यक्ष मृगेन्द्रकुमार सिंह, भदौ २० गते जनकपुरमा हुने कार्यक्रममा उपाध्यक्ष राजकिशोर यादव र भदौ २२ गते वीरगञ्जमा हुने कार्यक्रममा अध्यक्ष उपेन्द्र यादव सहभागी हुने छन्।

बैठकले मुलुकभित्र रहेका जातीय/राष्ट्रिय भाषिक, धार्मिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरूको अधिकार प्राप्तिका लागि ‘अल्पसंख्यक अधिकार संगठन’ गठन गर्न पार्टीले आवश्यक कार्य गर्ने निर्णयसमेत गरेको बस्नेतले बताए।

प्रकाशित: १३ श्रावण २०८२ ११:२९ मंगलबार