राजनीति

कांग्रेसले महाधिवेशनका निर्णय मंसिरभरि नागरिकमाझ पुर्‍याउँछ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको महाधिवेशनबाट पारित राजनीतिक विचार, दर्शन, नीति तथा कार्यक्रम मंसिर महिनाभरि नागरिकमाझ पुर्‍याउने बताएका छन्। महाधिवेशनबाट पार्टीले वर्तमान समयका समस्या सम्बोधन गर्ने राजनीतिक क्षमता र तयारी प्रस्तुत गरेको उल्लेख गर्दै थापाले त्यसका निर्णय समर्थक, शुभेच्छुक र आम नागरिकसम्म पुर्‍याउनुपर्ने बताएका हुन्। 

उनले विगतका नेताहरूको नेतृत्वमा विगतका समस्या समाधान गरेकोमा गौरव गर्दै वर्तमान समस्यालाई सम्बोधन गर्ने क्षमता आफूहरूले राख्ने प्रतिबद्धता महाधिवेशनबाट व्यक्त गरिएको बताए। 

‘आजका समस्याहरू सम्बोधन गर्ने ल्याकत हामी राख्छौँ भने त्यसको राजनीतिक दर्शन के हो, राजनीतिक विचारधारा के हो, सांगठनिक आधार र कार्यक्रमको आधार के हो भन्ने सबै कुरा हामीले महाधिवेशनबाट भनेका छौँ,’ उनले भने। 

पार्टी सार्वजनिक संस्था भएकाले महाधिवेशनबाट पारित विषय पार्टीका प्रतिनिधि, तल्लो तहका नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक र आम नागरिकसम्म पुग्नुपर्ने उनको भनाइ छ। 

महाधिवेशनबाट पार्टीले आत्मसमीक्षा र आत्मालोचनाको चरण पूरा गरेको उल्लेख गर्दै उनले अब विगतका कमजोरीबाट पाठ सिकेर अघि बढ्ने समय आएको बताए। 

‘अब हामीले समीक्षा गर्‍यौँ, कतिपय कुरामा आत्मालोचना गर्‍यौँ । त्यो चरण सकियो । अब हामी अगाडि बढ्नुपर्छ,’ उनले भने ।

कांग्रेस वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्षको जिम्मेवारी निर्वाह गर्न, स्थानीय सरकारको दायित्व पूरा गर्न तथा राष्ट्रिय शक्तिका रूपमा आफ्नो भूमिका निर्वाह गर्न तयार रहेको पनि थापाले बताए।  

प्रकाशित: १३ कार्तिक २०८३ ११:१९ शुक्रबार