राजनीति

कांग्रेसलाई पहिला बूढाहरूको पार्टी भनिन्थ्यो, अहिले युवाहरूले भरिएको छ : आङ्देम्बे

नेपाली कांग्रेसका नेता एवं संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनले कांग्रेसप्रति सबै उमेर समूहको भरोसा बढेको बताएका छन्।

कांग्रेस १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्रको समापन कार्यक्रममा नेता आङ्देम्बेले यसपटकको महाधिवेशनमा पार्टीको नीति, सिद्धान्त र भावी कार्यदिशाबारे छलफल भएकाले आफूलाई यो महाधिवेशन नौलो लागेको बताए।

‘मैले विगतका बन्दसत्रमा कहिल्यै नीति, सिद्धान्त र भावी कार्यदिशाका बारेमा छलफल भएको देखेको थिइँन, त्यसकारण यो मेरा  लागि पनि कांग्रेसको नौलो महाधिवेशन हो, यसले कांग्रेसको नीति र सोचमा पनि बदलाव ल्याउने आशा राखेको छु,’ नेता आङ्देम्बेले भने।

महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका नेताहरूको उपस्थितिले नेपाली कांग्रेसले मुलुकको राजनीतिलाई दिशानिर्देश गर्ने भूमिका देखाएको नेता आङ्देम्बेले उल्लेख गरे।

‘पहिला कांग्रेसलाई बूढापाकाहरूको पार्टी भन्ने गरिन्थ्यो, तर आज १८ वर्षका युवा र युवतीहरूले भरिएको पार्टी बनेको छ, यो पार्टी सबै उमेर समूहले भरोसा गर्ने पार्टीका रूपमा स्थापित भएको छ,’ उनले भने।

नेता आङदेम्बेले महाधिवेशनबाट निर्वाचित हुने नेतृत्वले पार्टीलाई नयाँ नीति, सोच र कार्यदिशासहित अघि बढाउनुपर्ने बताए।

प्रकाशित: २१ आश्विन २०८३ १७:३९ बुधबार