राजनीति

आन्तरिक झमेलामा कांग्रेस-एमाले

पुराना दलहरू नेपाली कांग्रेस र नेकपा एमाले आन्तरिक झमेलामा फसेका छन्। फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि यी दलमा आन्तरिक समस्या झांगिएको हो। एमालेमा केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने दबाब सिर्जना भइरहेको छ। कांग्रेस विशेष महाधिवेशनदेखि नै दुई धारमा विभाजित छ। कांग्रेसमा विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई एकढिक्का बनाउन सकेन भन्ने गुनासो एकातिर छ भने अर्कातिर विशेष महाधिवशेनलाई अस्वीकार गर्दै आएको शेरबहादुर देउवा पक्ष समानान्तर बैठक, भेलामा सक्रिय छ। कांग्रेस विशेष महाधिवेशन विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा दुवै पक्ष एकअर्कालाई कमजोर देखाउन सक्रिय छन्।

विवादका बिच नै संस्थापन पक्ष (विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेको पक्ष) ले अनुशासन उल्लंघन गरेको आरोपमा देउवा समूहका नेता एवं पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्लाई सात दिनको स्पष्टीकरण सोधेको छ। खड्कालाई बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि अनुशासन समितिले स्पष्टीकरण सोधेको हो।

कांग्रेसका प्रवक्ता देवराज चालिसेले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्नु अनुशासन समितिको क्षेत्राधिकारभित्रको विषय भएको बताए।

यो विषयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरिरहनु नपर्ने पनि उनले बताए। ‘केन्द्रीय अनुशासन समितिले तथ्यका आधारमा विधानसम्मत र प्रमाणका आधारमा आफ्ना कामकारबाही अगाडि बढाउँछ। उसको आफ्नै क्षेत्राधिकार छ। अनुशासन समितिले तथ्य छ, प्रमाण छ भने केन्द्रीय समिति र पार्टीका सदस्यहरूलाई पनि त कारबाही गर्न सक्छ’, चालिसेले भने।

चालिसेले जिम्मेवारीमा बसिसकेको मान्छेलाई अनधिकृत रूपमा पार्टीको दर्जा, लेटरप्याड दुरुपयोग गर्न नसुहाउने पनि बताए। ‘पार्टीको अनुशासन र विधानले अनुशासनविपरीतका काम गर्नलाई छुट दिँदैन। पार्टीका सबै सदस्य अनुशासनको सीमामा रहनुपर्छ, विधानभन्दा माथि कोही छैन, विधानको अधीनस्थ हामी सबै बस्नुपर्छ,’ उनले भने।

पूर्वकार्यवाहक सभापति खड्काले छुट्टै भेला बोलाएको, निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको लगायतका विषयमा कांग्रेसभित्र आरोपप्रत्यारोप चलिरहेको छ।

कांग्रेसभित्र क्रियाशील सदस्यता नवीकरणको मुद्दा पनि पेचिलो बन्दै गएको छ। सदस्यताका विषयमा संस्थापन पक्षले गरेको निर्णयबाट देउवा पक्ष आक्रोसित बनेको छ। कांग्रेसको आधिकारिकता विवाद सुल्झिन नपाउँदै सदस्यता नवीकरणको मुद्दा पनि सर्वोच्चमा पुगेकाले दुवै पक्षबिच टकराव सिर्जना भएको हो।

विशेष महाधिवेशनबाट बनेको केन्द्रीय कार्यसमितिले वैशाखभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने र असोजमा १५औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।

सभापति गगनकुमार थापाले क्रियाशील सदस्यता नवीकरण गर्न सम्बन्धित व्यक्ति नै वडा समितिमा जानुपर्ने बताएपछि विवाद पेचिलो बनेको हो। ‘क्रियाशील सदस्यता लिन चाहने व्यक्ति आफैं आफ्नो वडा कार्यसमितिमा पुगेर फोटो खिचाउनुपर्छ, मोबाइल नम्बर अनिवार्य दिनुपर्छ। मोबाइलमा आउने ओटिपीका आधारमा पासवर्ड बन्छ र क्रियाशील सदस्यता भेरिफाइ हुन्छ। वैशाखभर क्रियाशील सदस्यता वितरण अभियानका क्रममा जतिले अद्यावधिक गर्दैनन्, तिनको सदस्यता खारेज भयो भने पनि हुन्छ, ती अभिलेखमा रहन्छन् तर नवीकरण नगराएकाले १५औं महाधिवेशनमा भाग लिन पाउँदैनन् ’, थापाले केही दिनअघि भनेका थिए।

तर यो विषयष्मा देउवा पक्षका खड्काले कार्यवाहक सभापतिको हैसियतमै पार्टीको लेटरप्याडमा चैत ३० गते विज्ञप्ति निकालेरै आपत्ति जनाएका छन्। खड्काले ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले लहडमा खारेज गर्न नसक्ने चेतावनी विज्ञप्तिमार्फत दिएपछि अनुशासन उल्लंघन आरोपमा उनलाई संस्थापन पक्षीय अनुशासन समितिले स्पष्टीकरण सोधेको हो। खड्काले पार्टीको सदस्यता कुनै नेताको आवेग, उत्तेजना, लहडमा वा भाषणमार्फत खारेज गर्ने विषय नभएको विज्ञप्तिमार्फत बताएका थिए। ‘क्रियाशील सदस्यता व्यक्तिको पार्टी आबद्धताको प्रमाणपत्र मात्रै होइन, पार्टीको ऐतिहासिक जीवनसँग जोडिएको योगदान र निरन्तरताको निस्सा हो। पार्टीको महाधिवेशनले वैधानिक व्यवस्था गरेमाबाहेक आमसदस्यहरूको क्रियाशील सदस्यता खारेज कसैले पनि गर्न सक्दैन,’ खड्काले भनेका छन्।

यसैगरी जेनजी आन्दोलनअघि सरकारको नेतृत्व गरेको नेकपा एमाले पनि आन्तरिक विवादमा फसेको छ। जेनजी आन्दोलनपछि एमालेमा नेतृत्व परिवर्तनको कुरा उठेको थियो। यही आन्तरिक विवादकै बिच एमालेले नियमितभन्दा एक वर्षअघि नै महाधिवेशन आयोजना गर्‍यो। गत मंसिरमा सम्पन्न महाधिवेशनबाट केपी शर्मा ओली नै नेतृत्वमा दोहिरिएपछि एमाले उनकै नेतृत्वमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएको थियो। चुनावी परिणाम सोचेजस्तो नआएपछि एमालेभित्र नेतृत्व परिवर्तनको विवाद फेरि सतहमा आएको छ। नेतृत्व परिवर्तनको पक्षमा माहोल बनिरहेको नेताहरूले बताएका छन्।

एमाले अध्यक्ष ओलीलाई हटाउन पदाधिकारीबिच नै गठजोड भैरहेको छ। नेतृत्व बदल्न उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल एकै ठाउँमा उभिनसक्ने नेताहरुको दाबी छ। पौडेल–पोखरेल ओलीनिकट र उनका विश्वासपात्र हुन्। ११औं महाधिवेशनबाट ओलीले नै पोखरेललाई दोस्रो पटक महासचिवमा ल्याएका हुन्। उनैले पौडेललाई पनि उपाध्यक्ष बनाएका हुन्।

विगतमा पौडेल र पोखरेलले अप्ठेरो अवस्थामा ओलीलाई साथ दिँदै आएका थिए तर बदलिँदो राजनीतिक अवस्थामा एमाले नेतत्व परिवर्तन गर्ने पक्षमा यी दुवैजना रहेको बताइन्छ तर उनीहरुले यो विषयमा खुलेर केही बताएका छैनन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको ६ महिनापछि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको सर्मनाक पराजय भयो। जनताले पार्टी अध्यक्ष ओलीको नीति अस्वीकृत गरेको भन्दै उनलाई राजीनामा दिन नेताहरूले दबाब बढाएका छन् तर ओली अहिलेसम्म अध्यक्ष छाड्न तयार भएका छैनन् । उनी अस्पतालमा उपचाररत छन्।

जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गौरीबहादुर कार्की नेतृत्वमा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै प्रहरीले चैत १४ गते ओलीलाई पक्राउ गरेपछि उनी स्वास्थ्यमा कारण अस्पतालमा छन्। उनी हिरासतकै अवस्थामा अस्पताल बसे। पछि सर्वोच्च अदालतले हिरासत म्याद नथप्न भनेपछि उनी मुक्त भएका छन्। हिरासतबाट मुक्त भए पनि उनी त्रिवि शिक्षण अस्पतालमै छन्। ओली हिरासतमा रहेका बेला कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापाले पाएकाछन्। थापा नै संसदीय दलको नेता पनि भएका छन्। थापा कार्यवाह अध्यक्ष र संसदीय दलको नेता बनेपछि एमालेमा थप असन्तुष्टि बढेको छ। एमाले सचिव पद्मा अर्यालले यो विषयलाई ठाडै अस्वीकार गरेकी छन्।

प्रधानमन्त्री बालेन्द्र शाहसँग बुधबार छलफल गरी बाहिरिने क्रममा उनले एमाले अध्यक्षमा ओलीको विकल्प नखोजिएको प्रस्ट पारिन्। ‘एमालेभित्र शंकर पोखरेल र विष्णु पौडेलबिच अध्यक्षबाट केपी ओलीलाई ग्रेसफुल एक्जिट गराउने विषयमा केही समझदारी भएको चर्चा चलेको छ। अब पार्टी कसको नेतृत्वमा अघि बढ्छ?’ भनेर सोधिएको प्रश्नमा उनले ओलीको विकल्प नखोजिएको बताइन्। ‘यो बाहिर आएको विषय त्यति धेरै तथ्यमा आधारित छैन। हामी बैठक बसेका छैनौं। चुनावको समीक्षा पनि गर्न बाँकी छ। पार्टीको आन्तरिक जीवनलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा बैठक नभएको अवस्थामा अहिले यस्तो छलफल गर्ने बेला पनि होइन। उहाँ (अध्यक्ष ओली) उपचारमा हुनुहुन्छ। सबै नेताहरुको एउटै सहमति छ कि जे छलफल गर्छौं त्यो पार्टी अध्यक्षले स्वास्थ्यलाभ गरेर फर्किसकेपछि उहाँकै रोहबरमा बैठक बसेर गर्छौं,’ अर्यालले भनिन्।

प्रकाशित: ३ वैशाख २०८३ ०७:१२ बिहीबार