नेपाली कांग्रेसले अन्तरघातको विषयलाई समेत प्राथमिकतामा राख्दै चुनावी परिणामको समीक्षा गर्ने भएको छ। भलै अहिलेसम्म कांग्रेस अनौपचारिक वा औपचारिक रुपमा चुनावी समीक्षाको विषयमा प्रवेश गरिसकेको छैन।
समानुपातिक सांसदहरुको नामावली तय गर्न निर्वाचन पश्चात् कार्य सम्पादन समितिको बैठक बसेको भएपनि उक्त बैठकमा चुनावी समीक्षाको विषयले प्रवेश नपाएको कांग्रेस सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिए।
चुनावी प्रक्रिया सम्पन्न भइसकेको र अब बस्ने केन्द्रीय समिति बैठकले कांग्रेसले प्राप्त गरेको निर्वाचन परिणामबारे गम्भीर समीक्षा हुने चौधरीले बताए।
‘चुनावी प्रक्रियाका कामहरु पुरा भएका छन्, अब बल्ल पार्टीले चुनावी समीक्षाको काम प्रारम्भ गर्ने छ, अहिलेसम्म पार्टी यो विषयमा प्रवेश भइसकेको छैन’ सहमहामन्त्री चौधरीले भने ‘अब हप्ता दिन पछि केन्द्रीय समिति बैठक प्रारम्भ हुनेछ र उक्त बैठकमा चुनावी समीक्षा गम्भीर रुपमा गरिने छ।’
उनका अनुसार पार्टीले भोग्नु परेको अप्रत्याशित पराजयका कारणहरू केलाइने छ। यी कारणहरू मध्य पार्टी भित्रको अन्तरघातको विषय पनि प्राथमिकतामा पर्ने छ।
गगन कुमार थापा पार्टी सभापति भएपश्चात् चुनावमा पार्टी संगठित रुपमा होमिएको जस्तो देखिएको तर त्यसलाई पार्टी संस्थापन पक्षले अहिले भ्रमका रुपमा विश्लेषण गरेको छ। यो विश्लेषणको पुष्टि विशेष महाधिवेशन इतर समूहका नेताहरूबाट आएको अहिलेको प्रतिक्रियाले गरिदिएको सहमहामन्त्री चौधरीले बताए।
‘पार्टी रूपान्तरण भई गगनकुमार थापाको नेतृत्वमा पार्टी निर्वाचनमा होमिँदै गर्दा देशव्यापी रुपमा कांग्रेस भित्र एकताको माहोल जस्तो देखियो, हामीले यसलाई पार्टी भित्र नयाँ ऊर्जा प्रदान भएको र चुनावमा जीतको सहज आङ्कलन गर्यौँ पनि,’ उनले भने ‘तर अहिले जसरी नेताहरूबाट चुनावी हारको नैतिक जिम्मेवारीको बहसको उठान भएको छ, यसले निर्वाचनमा जुन खालको एकताको माहोल जस्तो देखियो, त्यो भ्रम रहेछ भन्ने कतै न कतै पुष्टि गरेको जस्तो भान भएको छ, त्यसैले पार्टीले यो विषय उपर निर्मम समीक्षा गर्ने छ।’
मूलतः निर्वाचन पश्चात् शेरबहादुर देउवा पक्षीय नेताहरुले निर्वाचन पराजयको दोष सभापति थापालाई लगाउँदै नैतिकताका आधारमा राजीनामा दिनु पर्ने अभिव्यक्ति दिँदै आएका छन्।
यो अभिव्यक्तिलाई संस्थापन पक्षले थापाको नेतृत्वलाई स्वीकार नगरेको र त्यसको नकारात्मक प्रभाव निर्वाचनमा परेको बुझेको छ। फलतः अन्तरघातको एजेण्डालाई प्राथमिकता दिएर पार्टीले समीक्षा गर्ने तयारी अनुरूप पार्टीको अनुशासन समितिले उजुरी सङ्कलन गरिरहेको समेत सहमहामन्त्री चौधरीले जानकारी दिए।
‘पार्टीका साथीहरूबाट असहयोग वा अन्तरघात भएको भन्ने गुनासो व्याप्त छन्, त्यसैका आधारमा पार्टीको अनुशासन समितिले उजुरी सङ्कलन लिइरहेको छ,’ सहमहामन्त्री चौधरीले भने ‘अनुशासन समितिमा आएका उजुरी उपर पार्टीले अनुसन्धान गर्ने छ, र विधानतः ती उजुरी उपर कारबाहीको प्रक्रिया अगाडी बढाउँछ।’
नेतृत्वकर्ताका हिसाबले सभापति थापाले चुनावी पराजयको नैतिक जिम्मेवारी एकल रुपमा लिनु पर्ने पार्टीका नेताहरुको अभिव्यक्तिलाई संस्थापन पक्षले पार्टीलाई थप कमजोर पार्ने प्रयासका रुपमा बुझेको छ।
चुनावी हारको नैतिक जिम्मेवारी सभापति थापाले मात्रै नभई हरेक कांग्रेसीले लिनु पर्ने भन्दै सहमहामन्त्री चौधरीले भने ‘पार्टी पराजय हुनुको नैतिक जिम्मेवारी सहमहामन्त्री भएका हिसाबले मैले पनि लिनु पर्छ, तर निर्वाचनमा हार व्यहोरिएपछि पार्टी नै खत्तम बनाएको जसरी सभापति जीको राजीनामाको विषय जसरी अहिले निकाल्न खोजिएको छ, यो पार्टीका निम्ति कुनै पनि हालतमा ठिक छैन, यसर्थ संयमित भएर पार्टीलाई सही ट्रयाकमा लैजाने सवालमा गम्भीर बन्नु पर्छ।’
त्यसो त, सभापति थापाले राजीनामाका लागि आएको दबाबका विषयमा मुख भने खोलेका छैनन्। ‘सभापति जीले हामीसँग यसबारेमा कुनै प्रतिक्रिया वा धारणा सुनाउनु भएको छैन,’ सहमहामन्त्री चौधरीले भने ‘तर सभापति जीको राजीनामाको खोजी गरिनु वा राजीनामा दिनु कांग्रेसलाई थप जटिल अवस्थामा पुर्याउनु हो, यसतर्फ सभापति जी सचेत हुनुहुन्छ, गम्भीर हुनुहुन्छ।’
यस अलावा पार्टीको चुनावी रणनीति, आम मतदाता समक्ष पार्टीले आफ्नो प्रभाव कायम गर्न सके/नसकेको विषयमा समेत पार्टीले समीक्षा गर्ने चौधरीले जानकारी दिए।
पार्टीका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुनले पनि निर्वाचनमा देखिएको अन्तरघात चुनावी समीक्षाको प्रमुख एजेण्डाका रुपमा रहने बताए।
प्रदेशमा पनि अन्तरघात भएका गुनासाहरू व्याप्त रहेको भन्दै सभापति पुनले भने ‘पार्टी भित्र बसेर पार्टीकै आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने, अन्तरघात गर्ने कोही कसैलाई उन्मुक्ति मिल्नु हुँदैन, अहिलेको पार्टी नेतृत्वले कडा एक्सन लिने छ भन्ने मलाई विश्वास छ।’
प्रकाशित: ३ चैत्र २०८२ १८:३३ मंगलबार