नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत र पुनःस्थापनाका काममा सरकारलाई हरसम्भव सहयोग गर्ने निर्णय गरेको छ।
तर बाढीको कारण सुरुङभित्र फसेका श्रमिक तथा इन्जिनियरको उद्धारमा सरकारले देखाएको ढिलासुस्ती र अकर्मण्यताप्रति कांग्रेसले गम्भीर प्रश्न समेत उठाएको छ।
प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको आठौँ बैठकले विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा निर्णय गर्दै सरकारलाई तत्काल उद्धार, राहत र पुनःस्थापनाको काम प्रभावकारी बनाउन आग्रह गरेको हो।
कांग्रेसले विपद्का बेला राजनीतिक विमतिभन्दा माथि उठेर सरकारलाई सहयोग गर्ने नीतिलाई थप प्रभावकारी बनाउने र उद्धार तथा राहत अभियानलाई पुनःस्थापनासम्म व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ।
बैठकले सरकारले स्थापना गरेको विपद् कोषमा पार्टीका तर्फबाट एकमुष्ट एक करोड रुपैयाँ जम्मा गर्ने निर्णय समेत गरेको छ।
कांग्रेसले सुरुङभित्र फसेकाहरूको उद्धारमा सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत उद्धारमा अहोरात्र खटिएका सुरक्षा तथा प्रशासनिक निकायको भूमिकाको प्रशंसा गर्दै प्रतिष्ठानले सरकारको समग्र व्यवस्थापनप्रति गम्भीर प्रश्न गरेको हो।
साथै सुरुङभित्र धेरै इन्जिनियर तथा श्रमिक फसेको संवेदनशील जानकारी विश्वभर पुगिसकेको अवस्थामा नेपालको क्षमता र विज्ञताले नभ्याए तत्काल अन्तर्राष्ट्रिय विज्ञ तथा प्रविधिको सहयोग लिनुपर्ने कांग्रेसको भनाइ छ।
उद्धारका लागि सूरुका दुई–तीन दिनमै अन्तर्राष्ट्रिय सहयोग लिनुपर्नेमा सरकारले सहयोग लिन नचाहेको, लिन ढिलाइ गरेको तथा जलविद्युत् आयोजनाका प्रवर्द्धक र निर्माण कम्पनीलाई समेत समयमै उद्धारको अनुमति नदिएको कांग्रेसले आरोप लगाएको छ।
कांग्रेसले यस्तो व्यवहार गलत हुनुको साथै अमानवीय भएको भन्दै सुरुङभित्र रहेका व्यक्तिहरूको अविलम्ब उद्धार र उचित निकासको व्यवस्था गर्न सरकारसँग माग गरेको हो।
प्रकाशित: १७ भाद्र २०८३ १२:०० बुधबार