राजनीति

बागमतीमा सत्ता जोगाउन कांग्रेसको कसरत

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। कांग्रेस बागमती प्रदेश संसदीय दलको शनिबार काठमाडौंमा बसेको बैठकले भदौ ३ मै विश्वासको मत लिने गरी तयारी अघि बढाउने निर्णय गरेको हो।

नेकपा (एमाले) ले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको छ। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्रीसँग भदौ ५ गतेसम्मको समय छ। कांग्रेसले भने दुई दिनअघि नै विश्वासको मत लिने तयारी गरेको हो।

बानियाँका लागि विश्वासको मत जुटाउनु सहज छैन। कांग्रेससँगको सत्ता सहकार्यबाट एमाले बाहिरिएर नेकपासँग नयाँ समीकरण बनाएपछि बागमतीमा सरकार गठनको नयाँ खेल सुरु भएको छ। एमाले र नेकपा मिलेर नयाँ सरकार बनाउने तयारीमा रहे पनि आवश्यक बहुमतको अंकगणित अझै स्पष्ट भइसकेको छैन।

यता कांग्रेसले भने साना दल र स्वतन्त्र सांसदको समर्थन जुटाएर वर्तमान सरकारलाई निरन्तरता दिने रणनीति अघि सारेको छ। संसदीय दलको बैठकले आफ्ना सांसदलाई विश्वासको मतका लागि आवश्यक तयारी गर्न निर्देशन दिएको छ।

कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनका अनुसार विश्वासको मत लिनुभन्दा एक दिनअघि नै सबै सांसदलाई हेटौंडा पुग्न भनिएको छ। साथै कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेतासँग थप राजनीतिक छलफल गर्ने निर्णय बैठकले गरेको छ।

सरकार जोगाउन आवश्यक समर्थन जुटाउने जिम्मेवारी कांग्रेस नेतृत्वले लिएको छ। त्यसका लागि अन्य दलका शीर्ष नेतासँग संवाद र समन्वय अघि बढाउने तयारी कांग्रेसको छ।

बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कुनै पनि पक्षले अहिलेसम्म स्पष्ट बहुमतको समीकरण बनाउन नसकेको अवस्थामा मुख्यमन्त्री बानियाँले लिने विश्वासको मतले प्रदेशको आगामी सत्ता समीकरण निर्धारण गर्ने देखिएको छ।

भदौ ३ को विश्वासको मतले बानियाँ सरकारको भविष्य मात्र तय गर्ने छैन, बागमतीमा कांग्रेसको सत्ता निरन्तरता वा एमाले–नेकपा गठबन्धनबाट नयाँ सरकार गठनको बाटोसमेत खोल्नेछ।

प्रकाशित: २३ श्रावण २०८३ २०:२३ शनिबार