नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीले जनतासमक्ष आफ्ना गल्ती स्वीकार गर्दै त्यसबाट सिक्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका छन्। काठमाडौँमा जारी नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलामा ‘मुलुकको समसामयिक विषयको प्रस्ताव’ प्रस्तुत गर्दै साउदले कांग्रेसले जनतासँग इमानदारीपूर्वक प्रस्तुत हुनुपर्ने बताएका हुन्।
उनले कांग्रेसले विगतमा गरेका कमजोरी स्वीकार गर्दै लोकतन्त्र, संविधान र जनताको अधिकारलाई बलियो बनाउने जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्नुपर्ने बताए। आफ्ना गल्ती स्वीकार गर्दा पार्टी कमजोर नभई अझ विश्वसनीय बन्ने उनको भनाइ छ।
साउदले संसदीय फाँटमा कांग्रेसको उपस्थिति र प्रभावकारिता कमजोर बन्दै गएको पनि उल्लेख गरेका छन्। सत्ताको छायामा कांग्रेस परेको अनुभूति हुन थालेको भन्दै उनले संख्यात्मक रूपमा कमजोर हुनु मात्रै पार्टीका लागि ठूलो चुनौती नभएको बताए।
‘संसद्मा संख्यात्मक रूपमा कमजोर हुनुको अर्थ कांग्रेसको राजनीतिक भूमिका समाप्त हुनु होइन,’ उनले प्रस्तावमा भनेका छन्, ‘राष्ट्रिय मुद्दामा प्रभावकारी वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्न नसक्नु अझ ठूलो चुनौती हो।’
प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसले सरकारका कमजोरी औँल्याउने मात्र नभई जनतालाई विश्वास दिलाउने वैकल्पिक नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
प्रकाशित: ३० श्रावण २०८३ १४:५४ शनिबार