राजनीति

कांग्रेसको पराजय: कमजोर प्रभाव कि अन्तरघात ?

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा शर्मनाक हार व्यहोरेको नेपाली कांग्रेसले केही दिनअघि चुनावी हारको समीक्षा गर्‍यो। दाङ क्षेत्र नम्बर २ ले आयोजना गरेको उक्त समीक्षामा कांग्रेस यो क्षेत्रमा तेस्रो हुनुको कारण खोज्ने प्रयास गरियो।

यो क्षेत्रमा झण्डै ३३ हजार मतान्तरले पराजय व्यहोर्नु परेको कारण पार्टीभित्रको अन्तरघात रहेको भन्दै एक कार्यकर्ताले गीता शिरमा राखेर कसम खाँदै भने, ‘म, मेरो श्रीमती र छोराले रुख चिन्हमै भोट हालेका हौँ।’

उक्त भेलामै सहभागी भएका कार्यकर्तामध्ये धेरैले रुख चिन्हमा मत नहालेको दाबी गर्दै ती कार्यकर्ताले थपे, ‘यहाँ सहभागी भएका हामीमध्ये धेरैले रुख चिन्हमा भोट हालेका छैनौँ। नपत्याए सबैले गीता छोएर कसम खाऔँ। मैले त गीता शिरमा राखेर कसम खाएँ, तपाईँहरू सक्नुहुन्छ ?’

कार्यक्रममा सहभागी अर्का कार्यकर्ताले पनि त्यसैगरी अन्तरघातका कारण पार्टीले पराजय व्यहोर्नु परेको गुनासो गरे। उनले पनि गीता छोएर कसम खान चुनौती दिँदै भने, ‘म गीता छुन तयार छु, सबैले गीता छोएर कसम खाऔँ।’

गत निर्वाचनमा पार्टीभित्रबाटै ठूलो अन्तरघात भएको भन्दै एक कार्यकर्ताले त सक्रिय सदस्यताबाट राजीनामा दिएको घोषणा समेत गरिदिए। पार्टीमा बसेर पार्टीलाई नै अन्तरघात गरेर हराउने गलत खेल भएको भन्दै उनले यस्तो पार्टीमा नबसी स्वतन्त्र रूपमा बस्ने घोषणा गरे।

हरेक निर्वाचनपछि कांग्रेसभित्र जन्मिने ‘अन्तरघात’ शब्द यस चुनावमा पनि उस्तै गरी सुनियो। अहिले कांग्रेसभित्र अन्तरघात भएको आरोप–प्रत्यारोपले विवाद चर्किएको छ। यसले कार्यकर्तापंक्तिमा ठूलो विभाजन ल्याएको छ। निर्वाचनमा पराजित भएकाहरूले अन्तरघात गरेको भन्दै लगाएको आरोपले अर्को पक्ष चिढिएको छ।

‘निर्वाचनपछि जसरी कांग्रेसभित्र घात–अन्तरघात भएको भन्ने आवाज उठ्छ, त्यो अहिले पनि उठेको अवस्था छ,’ कांग्रेस दाङ–२ का क्षेत्रीय सभापति भिमप्रकाश खड्काले भने, ‘तर अहिलेको मतान्तरलाई विश्लेषण गरेर हेर्ने हो भने यस निर्वाचनमा अन्तरघात भएको वा अन्तरघातका कारण हार व्यहोर्नु परेको भन्ने परिस्थिति देखिँदैन। अहिले जनताले पत्याएनन्, प्रमुख कारण यही हो।’

कांग्रेसभित्र अन्तरघातको आरोप–प्रत्यारोप चलिरहँदा प्रश्न उठेको छ—कांग्रेसले अन्तरघातका कारण पराजय व्यहोर्नु परेको हो कि आफ्नो प्रभाव कमजोर भएका कारण हार्नु परेको हो ?

राजनीतिक विश्लेषक विपुल पोख्रेलले मतदातासम्म प्रभाव पुर्‍याउन नसक्नु कांग्रेसको अहिलेको पराजयको प्रमुख कारण रहेको दाबी गर्छन्। दाङका तीनवटै निर्वाचन क्षेत्रसहित देशभरको कांग्रेसको नतिजा विश्लेषण गर्दा कांग्रेस चुनावी रणनीतिक रूपमा कमजोर बनेको र त्यसैको परिणामस्वरूप उसको पक्ष कमजोर देखिएको पोख्रेलको तर्क छ।

तर अन्तरघात भयो भनेर आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई आरोप लगाउँदा कांग्रेसलाई थप क्षति हुन सक्ने खतरा उनले औँल्याए।

‘कांग्रेसले पार्टीमा आएको रूपान्तरण वा परिवर्तन जे भनियो, त्यो सन्देश कार्यकर्ता पंक्तिसम्म मात्रै पुर्‍याउन सक्यो,’ पोख्रेल भन्छन्, ‘तर यो सन्देश सर्वसाधारण मतदातासम्म पुर्‍याउन सकेन। एउटा दलको पक्षमा उभिएको मतदाताको मानसिकता बदल्ने सवालमा कांग्रेस यहाँ चुक्यो। यति ठूलो मतान्तरको हारलाई अन्तरघात भन्दै आफ्नै साथीहरूलाई आरोप लगाउँदा पार्टीभित्र विश्वासको संकट झन् गहिरिँदै जान्छ। त्यसैले अहिलेको समीक्षा घात–अन्तरघातमा होइन, चुनावी रणनीति कहाँ कमजोर भयो भन्ने विषयमा केन्द्रित हुनुपर्छ।’

घात वा अन्तरघात पार्टीमा निर्णायक भूमिका राख्न सक्ने नेताबाट हुने असहयोग हो। निर्णय प्रक्रियामा असहमति जनाउँदै आफ्नै उम्मेदवारलाई असहयोग गरेर हराउन खोज्ने भूमिका अघिल्ला निर्वाचनहरूमा देखिए पनि यस पटक भने पार्टीभित्र त्यस्तो असहमति वा बेमेलको अवस्था खासै देखिएको थिएन।

विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वको पार्टीले आधिकारिकता पाएपछि कांग्रेसका नेता तथा कार्यकर्तामा नयाँ ऊर्जा र जागरण आएको थियो। फलतः सबै नेता तथा कार्यकर्ताहरू संगठित रूपमा निर्वाचनमा सक्रिय भएका थिए।

तर कार्यकर्तामा ऊर्जा र जागरण पैदा भए पनि त्यो ऊर्जा सर्वसाधारण मतदातासम्म पुर्‍याउन कांग्रेस असफल भयो। फलतः नयाँ शक्ति रास्वपाको पक्षमा मत जाहेर गर्ने मानसिकता बनाएर बसेका मतदाताको मन बदल्ने परिस्थिति बनेन।

‘रास्वपाका तर्फबाट ‘दल परिवर्तन नगर्नुस्, तर मत बदल्नुस्’, ‘यस पटक चुपचाप घण्टिमा छाप’ जस्ता नाराले मतदातालाई प्रभावित बनाइरहेका थिए,’ विश्लेषक पोख्रेल भन्छन्, ‘मतदाताले नयाँ शक्तिलाई विचार गर्ने मनसाय बनाएको देखिन्थ्यो। यस्तो अवस्थामा कांग्रेसले कस्तो चुनावी रणनीति अपनायो ? एउटा नाराले प्रभावित मतदाताको मन कांग्रेसतर्फ तान्न त्यसअनुसारको रणनीति बनाउनुपर्थ्यो, तर कांग्रेसले त्यो गर्न सकेन। फलतः नयाँ दललाई विचार गर्ने मतदाताको मानसिकताले कांग्रेस कमजोर र रास्वपा बलियो बन्ने परिस्थिति बनायो।’

हारको समीक्षा यस विषयमा केन्द्रित हुनुपर्नेमा अन्तरघातको आरोप लगाउनु त्रस्त मानसिकताबाट उत्पन्न भएको सोच भएको पोख्रेलको भनाइ छ।

‘कांग्रेसले जुन मतान्तरले हार व्यहोरेको छ, यसलाई अन्तरघातको परिणाम मान्न सकिँदैन,’ पोख्रेल भन्छन्, ‘यदि आम मतदाताले भोट हालेनन् भने के उनीहरूलाई अन्तरघाती भन्न सकिन्छ ? यो कदापि मिल्दैन। आम मतदाताले रुचाएनन्, त्यसैले कांग्रेस पराजित भयो।’

अर्का राजनीतिक जानकार डा. बिनबहादुर सिंह ओलीले पनि कांग्रेसको पराजय मतदाताको मन बुझ्न नसक्नुको परिणाम भएको बताए।

पुराना दलहरूप्रति मतदातामा बढ्दो आक्रोशलाई बुझेर उनीहरूलाई फकाउने रणनीति कांग्रेसले बनाउन नसकेको ओलीको बुझाइ छ।

‘कांग्रेस, एमालेलगायत पुराना दलप्रति सर्वसाधारणको धारणा नकारात्मक बनेको थियो,’ महेन्द्र बहुमुखी क्याम्पस दाङका राजनीति शास्त्रका पूर्व प्राध्यापक डा. ओलीले भने, ‘यो नकारात्मक धारणाको व्यवस्थापनका लागि कांग्रेसले योजना बनाउनुपर्थ्यो। तर संगठनात्मक मतले मात्रै चुनाव जितिन्छ भन्ने मानसिकतामा कांग्रेस रह्यो। संगठनभन्दा बाहिरको जनमत रुष्ट छ भन्ने उसले बुझ्न सकेन। फलतः उसको पक्षमा जनमत कमजोर बन्यो।’

पराजयको समीक्षा गर्दै आफ्नो पक्षमा जनमत कसरी फर्काउने भन्ने चुनौती कांग्रेससामु ठूलो रहेको उनको भनाइ छ। तर मतदाताले नपत्याएका कारण आएको हारलाई अन्तरघात भन्दै आरोप–प्रत्यारोप गर्नु कांग्रेसका लागि थप घातक बन्ने उनले चेतावनी दिए।

‘अन्तरघातको मत निर्णायक हुन सक्छ, तर अहिले जस्तो ठूलो मतान्तर त्यसका कारण मात्र हुँदैन,’ डा. ओली भन्छन्, ‘हार अन्तरघातका कारण होइन, जनमत कमजोर भएकै कारण भएको हो। अब कांग्रेसले आफूलाई सच्याउँदै अघि बढ्नुपर्ने बेला आएको छ।’

उनले दाङका तीनवटै निर्वाचन क्षेत्रमा कांग्रेसले बेहोरेको पराजयलाई पार्टीको कमजोर प्रभावको परिणामका रूपमा व्याख्या गरे। दाङ–१ र ३ मा कांग्रेस फराकिलो मतान्तरसहित दोस्रो स्थानमा रह्यो भने दाङ–२ मा ३० हजारभन्दा बढी मतान्तरले तेस्रो स्थानमा खुम्चिनुपर्‍यो।

तर विडम्बना, अहिले तेस्रो स्थानमा खुम्चिएको यही क्षेत्रमा कांग्रेसभित्र अन्तरघातको आरोप सबैभन्दा बढी चुलिएको छ।

 

प्रकाशित: २ चैत्र २०८२ १७:०५ सोमबार