राजनीति

कांग्रेसको ठहर: सरकारप्रतिको अविश्वास बढ्दा नागरिकमा निराशा, सम्झौता कार्यान्वयनमा गम्भीर बन्न आग्रह

कप्तानगन्ज घटनामा निष्पक्ष आयोगको माग

नेपाली कांग्रेसले सरकारका गतिविधिका कारण नागरिकमा राज्यप्रतिको विश्वास कमजोर हुँदै गएको र त्यसले समाजमा निराशा बढाएको निष्कर्ष निकालेको छ।

मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकपछि प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा सरकारले पटक–पटक सहमति गर्ने तर त्यसको प्रभावकारी कार्यान्वयनमा तत्परता नदेखाउने प्रवृत्ति बढेको उल्लेख गरिएको छ।

कांग्रेसले सरकारसँग सहमति गर्ने र त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्ति चिन्ताको विषय बनेको जनाएको छ। यस्तो अवस्थाले सरकारप्रतिको नागरिकको विश्वासमा असर पार्दै राज्य अभिभावक हो भन्ने भावना कमजोर हुँदै गएको कांग्रेसको निष्कर्ष छ।

‘सहमति गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले अविश्वास बढायो’

कांग्रेसले सरकारले हरेक घटनामा सहमतिको प्रयास गरे पनि त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्न नसकेको आरोप लगाएको छ।

सरकारप्रतिको अविश्वासको वातावरणले समाज र राष्ट्रमा नैराश्यता बढाउँदै लगेको भन्दै कांग्रेसले यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने जनाएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिले सरकारलाई समयमै संवेदनशील भएर परिस्थितिको समीक्षा गर्न र नागरिकको विश्वास कायम गर्ने गरी काम गर्न आग्रह गरेको छ।

कप्तानगन्ज घटनामा निष्पक्ष आयोगको माग

यसैबीच कांग्रेसले कप्तानगन्ज घटनाको छानबिनका लागि निष्पक्ष न्यायिक आयोग गठन गर्न माग गरेको छ।

न्यायको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदासमेत सरकारले पर्याप्त चासो नदेखाएको कांग्रेसको आरोप छ।

कांग्रेसले यादवको जीवनरक्षाका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराउँदै घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक आयोग गठन गर्न जोडदार माग गरेको छ।

कांग्रेसले सम्झौताको तत्काल कार्यान्वयनसँगै अनशनरत यादवको माग सम्बोधन गर्न सरकार गम्भीर बन्नुपर्ने बताएको छ।

प्रकाशित: २६ श्रावण २०८३ १९:२० मंगलबार