राजनीति

१५ औं महाधिवेशनमा पञ्चेबाजा र झाँकीसहित कांग्रेस प्रतिनिधि खुलामञ्चमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन विभिन्न जिल्लाबाट आएका प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरू पञ्चेबाजा, झाँकी र र्‍यालीसहित काठमाडौंको खुलामञ्च प्रवेश गरिरहेका छन्। विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरूले आफ्नो क्षेत्र र पहिचान झल्काउने झाँकीसमेत प्रदर्शन गरेका छन्। 

पञ्चेबाजासहितको र्‍यालीमा सहभागी नेता–कार्यकर्ताले कांग्रेसका झन्डा तथा विभिन्न नारासहित खुलामञ्चतर्फ प्रवेश गरिरहेका छन्। र्‍यालीका कारण खुलामञ्च आसपासको क्षेत्रमा कांग्रेस नेता–कार्यकर्ता तथा समर्थकको चहलपहल बढेको छ। 

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह आज दिउँसो २ बजे खुलामञ्चमा हुँदैछ। महाधिवेशन आयोजक समितिका अनुसार महाधिवेशनमा करिब साढे ७ हजार प्रतिनिधि सहभागी हुँदैछन्। 

उद्घाटन समारोहमा कांग्रेसले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको छ। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल , राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउतलगायत सहभागी हुने बताइएको छ। 

भारत, चीन, अमेरिका लगायतका मुलुकबाट विदेशी पाहुनासमेत उद्घाटन समारोहमा सहभागी हुनेछन्। 

महाधिवेशन उद्घाटनका लागि खुलामञ्चमा भव्य तयारी गरिएको छ। मञ्च निर्माण तथा सहभागीका लागि कुर्सी व्यवस्थापनलगायतका काम लगभग पूरा भएको छ। मञ्चको अग्रभागमा ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प’ भन्ने महाधिवेशनको नारा लेखिएको छ। 

महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी राजनीतिक, सांगठनिक तथा आर्थिक नीति र कार्यक्रम तय गर्नेछ। 

प्रकाशित: १८ आश्विन २०८३ १३:५३ आइतबार