‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिलामुकिला, चिल्ला गाडी चढ्नेहरू पार्टीभित्र हाबी हुनेछन्। मेरै बारेमा पनि अनर्गल प्रचार हुनेछ। त्यसका विरुद्ध आम कार्यकर्ताले फेरि एकचोटि संघर्ष गर्नुपर्ने हुन्छ।’ नेपाली कांग्रेसका संस्थापकमध्येका एक बिपी कोइरालाले आफ्नै पार्टीका विषयमा व्यक्त गरेको भनाइको एक अंश हो यो।
दक्षिणको छिमेकी भारतमा बेलायती उपनिवेश समाप्त हुने चरणमा पुगेपछि बिपीले २००३ असोज १८ मा पार्टी गठनका लागि आह्वान गरेका थिए। ब्रिटिसहरूको आडमा लामो समयदेखि टिकेको नेपालको राणाशासन अन्त्य गर्ने र मुलुकमा प्रजातन्त्र बहाली गर्ने उद्देश्य उनले राखेका थिए। त्यसबाट उत्साहित कृष्णप्रसाद भट्टराई, डिल्लीरमण रेग्मी, बालचन्द्र शर्मा, गोपालप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्यायलगायत युवाले कात्तिक १५ गते काशीमा गोष्ठी गरे।
बिपी, गणेशमान सिंहसहितका नेताहरू पार्टी गठन गर्ने निष्कर्षमा पुगेका थिए। सोहीअनुसार पार्टीको नाम, झन्डा, विधान टुंगो लगाउन २००३ माघ १२ र १३ गते कोलकाताको भवानीपुरमा अधिवेशन आह्वान गरे। सोही अधिवेशनलाई नै नेपाली कांग्रेसको प्रथम अधिवेशन (स्थापना दिवस) का रूपमा लिने गरिन्छ।
झन्डै आठ दशकअघि नागरिक अधिकार र जनउत्तरदायी शासन व्यवस्थाका लागि खडा भएको कांग्रेस अहिले सत्ता र शक्तिमा छ। सत्ता र शक्तिलाई केन्द्रमा राखेको कांग्रेसले बिपी कोइरालाले भनेजस्तै अहिले मोटाघाटा, सुकिलामुकिला हाबी भएको आरोप लाग्ने गरेको छ।
जसको आङमा फाटेको र मैलो लुगा छ, टाउकोमा घेरा मात्र भएको टोपी छ, बिरामी परे ओखतीमुलो पाउँदैनन्, यो देश तिनै गरिब किसानको भएको बिपीको बुझाइ थियो। बिपीको त्यही विचारकै आधारमा संविधानभसाबाट जारी नयाँ संविधानले स्वास्थ्य, शिक्षासहितका विषयलाई मौलिक हकका रूपमा उल्लेख गरिएको छ। अझ कांग्रेसका नेताहरूले बिपी कोइरालाको विचार र कार्यक्रमकै आधारमा नयाँ संविधान जारी गरेको दाबी गर्ने गरेका छन्। उनै बिपी कोइरालाको मंगलबार ४३औं स्मृति दिवस हो।
लोकतान्त्रिक व्यवस्थाका लागि जीवन बिताएका बिपी कोइरालाको २०३९ साउन ६ गते क्यान्सरबाट निधन भएको थियो। २००७ सालमा प्रजातन्त्र स्थापनापछि गठन भएको अन्तरिम सरकारका गृहमन्त्री बिपी २०१५ सालमा भएको आम निर्वाचनपछि गठन भएको पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन्। तर राजा महेन्द्रको तीव्र महत्वकांक्षामा पार्टीका स्वार्थ समूहहरू हाबी हुँदा २०१७ पुस १ गते राजाले निर्वाचित सरकारलाई अपदस्थ गरेर प्रत्यक्ष शासन सुरु गरेका थिए। झन्डै आठ वर्ष जेलजीवन बिताएका बिपी त्यसपछि निर्वाशनमा बसे।
२०३३ साल पुस १६ गते मेलमिलापको नीतिसहित बिपी स्वदेश फर्केका थिए। त्यसअघि लामो समय उनी सुन्दरीजलमा निर्वासनमा बसेका थिए। बिपीलाई जलेमा राखिएको सोही स्थान अहिले संग्रहालयमा परिणत भएको छ। कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला आफ्ना पितासमेत रहेका बिपीको स्मृति दिवस बनाउन सुन्दरीजल जाने भएका छन्। सुन्दरीजलस्थित जेलमा बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसहितका नेताहरूलाई आठ वर्षसम्म थुनेर राखिएको थियो।
नेपालमा प्रजातान्त्रिक समाजवादको विचार ल्याएका बिपी कोइराला नागरिक स्वतन्त्रताका पक्षमा लड्ने अग्रणी नेता मानिन्छन्। उनको विचार र कार्यक्रमबाट मात्र होइन कांग्रेसले बिपी कोइरालालाई नै बिर्सन थालेको गुनासो तीव्र बन्दै गएको छ। कांग्रेसले बिपी स्मृति दिवसको अवसर पारेर मंगलबार विगतमा जस्तै वृक्षरोपणसहितका विभिन्न कार्यक्रम आयोजना गरेको छ।
प्रकाशित: ६ श्रावण २०८२ ०७:१५ मंगलबार