नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश संघीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्रमा क्षेत्रीयस्तरका अधिवेशनहरू हुनेछन्।
अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश निर्वाचन क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार आजै क्षेत्रीय अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
समितिका अनुसार विगत दुई दिन अत्यधिक वर्षा भएको र आज तथा भोलि पनि भारी वर्षा हुने पूर्वानुमानका आधारमा असोज १३ गतेभित्र अनुकूलताअनुसार अधिवेशन सम्पन्न गर्न सकिने गरी विकल्प दिइएको छ। निर्वाचन समितिले विकल्प दिएपछि विशेषगरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र बाटो अवरुद्ध बनेका केही निर्वाचन क्षेत्रमा आइतबार र सोमबार अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।
आजदेखि पुनः मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकीमा सोमबार तथा मगंलबारसम्ममा अधिवेशन सम्पन्न हुने गरी तालिका बनाइएको छ। उनका अनुसार क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको छ। संघीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति, संघीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन्।
पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति भने संघीय निर्वाचन क्षेत्रीय कार्यसमिति र प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन्। पदेन सदस्यलाई मतदान गर्ने अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार भने नहुने कांग्रेसको विधानमा उल्लेख रहेको समितिका सदस्य सचिव कटुवालले बताए। उनका अनुसार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ।
यस समितिमा उपसभापतिको व्यवस्था गरिएको छैन। यस्तै, कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ। ती १८ जनामध्ये दुवै प्रदेशसभा क्षेत्रबाट एक महिला र दुई खुलासहित तीन-तीन जनाका दरले क्षेत्र ‘क’ र ‘ख’ बाट कुल छ जना निर्वाचित हुनेछन्। त्यसैगरी खुलातर्फबाट एक महिलासहित चार, युवामध्येबाट एक महिलासहित दुई, जनसङ्ख्याका आधारमा समानुपातिकतर्फबाट छ जना निर्वाचित हुनेछन् भने अन्य छ जनालाई क्षेत्रीय कार्यसमिति सदस्यमा मनोनयन गर्न सकिने व्यवस्था रहेको कटुवालले उल्लेख गरे।
क्षेत्रीय अधिवेशनबाटै चयन हुने महाधिवेशन प्रतिनिधिमा भने महिला चार, खुला १०, एक महिलासहित तीन युवा, जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन्। साथै श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसङ्ख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक-एक जना चयन हुने व्यवस्था गरिएको छ। यसरी हरेक संघीय निर्वाचन क्षेत्रबाट ३३ जना संघीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।
संघीय निर्वाचन क्षेत्र अधिवेशनले पार्टीको महासमिति बैठकमा सहभागी हुने महासमिति सदस्यहरू पनि चयन गर्नेछ। महासमिति सदस्यका रूपमा हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक र जनसङ्ख्याका आधारमा बाँडफाँट हुने समानुपातिकतर्फ चार गरी कूल १२ जना छनोट हुनेछन्। त्यसैगरी आजै हुने प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवैतर्फका लागि प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ।
प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना चयन हुने निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए। उनका अनुसार कोषाध्यक्ष भने प्रदेशसभा क्षेत्रीय कार्यसमितिका सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा एक जनालाई मनोनयन गर्ने व्यवस्था छ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति सदस्यका रूपमा दुई महिला, एक दलित, एक युवा, तीन खुला र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फबाट छ जना निर्वाचित हुनेछन्। यसबाहेक थप सात जनालाई कार्यसमितिमा मनोनयन गर्न पाइनेछ। सोही अधिवेशनले प्रदेश प्रतिनिधिका रूपमा दुई महिला, आठ खुला, एक महिलासहित दुई युवा, जनसङ्ख्याका आधारमा हुने समानुपातिकतर्फ छ जना चयन गर्नेछ।
त्यसैगरी, पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, दलित, तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक-एक जनालाई प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ। कांग्रेसको अधिवेशन शृङ्खला यही असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको र अब क्षेत्रीय अधिवेशन सकिएलगत्तै केन्द्रीय महाधिवेशन हुन लागेको छ। केन्द्रीय महाधिवेशन यही असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा सम्पन्न गर्ने गरी तीव्र तयारी भइरहेको कांग्रेसले जनाएको छ।
प्रकाशित: १० आश्विन २०८३ १२:४६ शनिबार