नेपाली कांग्रेसले बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका परिवारलाई न्यानो कपडा वितरण गर्नुका साथै मानसिक स्वास्थ्य परामर्श अभियान सञ्चालन गर्ने भएको छ।
पार्टीले प्रभावित बस्तीको अवस्था बुझ्न तीनवटै जिल्लामा स्थलगत अवलोकन र अन्तरक्रिया गर्ने निर्णय गरेको हो। सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, प्रभावित क्षेत्रका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए।
सह महामन्त्री प्रकाश रसाईली स्नेहीका अनुसार गत भदौ १० गते आएको बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनर्स्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको प्रगतिबारे बैठकमा जानकारी लिइएको थियो।
बैठकले छठ पर्वलगत्तै तीन वटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ। त्यसपछि प्रभावित परिवारको पुनर्स्थापना र पुनर्निर्माणका लागि पार्टीले चाल्नुपर्ने कदम तय गर्नेछ।
त्यस्तै, प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गरिने कांग्रेसले जनाएको छ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको भन्दै कांग्रेसले पुनर्स्थापना र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने समेत बताएको छ।
प्रकाशित: २० कार्तिक २०८३ २१:०७ शुक्रबार



