नेपाली कांग्रेस संसदीय दलले सांसदका स्वकीय सचिव (पीए) नियुक्तिको लागि नयाँ कार्यविधि ल्याएको छ। कार्यविधि अनुसार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका स्वकीय सचिव (पीए) नियुक्तिलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाउन नयाँ ‘प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि, २०८३’ संसदीय दलको बैठकले पारित गर्दै तत्काल लागू गर्ने निर्णय गरेको हो।
नयाँ कार्यविधिअनुसार स्वकीय सचिव बन्नका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। कानून, राजनीति शास्त्र, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि, कृषि, इन्जिनियरिङ, स्वास्थ्य तथा व्यवस्थापन विषय अध्ययन गरेका उम्मेदवारलाई प्राथमिकता दिइनेछ। साथै, उम्मेदवारको उमेर न्यूनतम २१ वर्ष पुगेको हुनुपर्ने प्रावधान पनि राखिएको छ।
कांग्रेसले सांसदहरूको विधायिकी भूमिका, नीति निर्माणमा सहभागिता तथा जनतासँगको समन्वयलाई प्रभावकारी बनाउन दक्ष र सक्षम जनशक्ति छनोट गर्ने उद्देश्यले नयाँ मापदण्ड ल्याएको जनाएको छ।
कार्यविधिअनुसार स्वकीय सचिवमा संसदीय प्रक्रिया सम्बन्धी आधारभूत ज्ञान, प्रतिवेदन तथा मस्यौदा तयार गर्ने क्षमता, कम्प्युटर र डिजिटल उपकरण सञ्चालनमा दक्षता, सामाजिक सञ्जाल व्यवस्थापन तथा तथ्य परीक्षण (फ्याक्ट–चेकिङ) सम्बन्धी सीप अनिवार्य मानिएको छ।
यसका साथै संसदीय वा नीतिगत अनुसन्धान, सार्वजनिक प्रशासन, पत्रकारिता, कानुनी अभ्यास, नीति निर्माण प्रक्रिया वा स्थानीय तथा प्रदेश सरकारसँग काम गरेको अनुभव भएका व्यक्तिलाई छनोटमा प्राथमिकता दिइने व्यवस्था गरिएको छ। नयाँ कार्यविधिले स्वकीय सचिवलाई केवल प्रशासनिक सहयोगीका रूपमा नभई सांसदका प्रमुख सहकर्मीका रूपमा परिभाषित गरेको छ।
उनीहरूले विधेयक अध्ययन तथा विश्लेषण, संसदीय प्रश्न र बहसको मस्यौदा तयार गर्ने, शून्य समयमा उठाइने विषय तयार गर्ने, नीति अनुसन्धान, निर्वाचन क्षेत्रका जनगुनासो व्यवस्थापन, विकास आयोजनाको अनुगमन, स्थानीय तहसँग समन्वय, प्रेस नोट, वेबसाइट तथा सामाजिक सञ्जाल सञ्चालन र कार्यालय व्यवस्थापनमा सांसदलाई सहयोग गर्नुपर्नेछ।
कार्यविधिअनुसार सम्बन्धित सांसदको सिफारिससहित व्यक्तिगत विवरण नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक प्रमाणपत्र तथा ५०० शब्दभित्रको प्रतिबद्धता पत्र संसदीय दलमा पेश गर्नुपर्नेछ। सोही आधारमा अन्तिम छनोट प्रक्रिया अघि बढाइने व्यवस्था गरिएको छ।
साथै, स्वकीय सचिवले उच्च नैतिकता, इमानदारी, गोपनीयता, अनुशासन र संसदीय मर्यादा कायम राख्नुपर्ने उल्लेख गरिएको छ। दबाबपूर्ण परिस्थितिमा पनि जिम्मेवार ढंगले कार्यसम्पादन गर्न सक्ने व्यक्तिलाई प्राथमिकता दिइनेछ भने कार्यसम्पादनको नियमित मूल्यांकन गर्ने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ।
प्रकाशित: १९ श्रावण २०८३ १०:४४ मंगलबार



