राजनीति

यो संकटमा कांग्रेस अलमलबाट बाहिर निस्कनुपर्छ: मीन विश्वकर्मा

नेपाली कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले मुलुक अहिले गम्भीर राजनीतिक अस्थिरता र असहज अवस्थाबाट गुज्रिरहेको बताउँदै पार्टी स्वयं पनि स्पष्ट दिशाविहीन अवस्थामा पुगेको बताएका छन् । \

उनले मंगलबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेको लिखित धारणा मार्फत पार्टीभित्र आत्ममूल्यांकन र एकताको आवश्यक्ता औंल्याएका हुन् ।

विश्वकर्माले भाद्र २३ र २४ गतेका घटनाले देश र पार्टी दुवैको जीवनमा गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै भने, ‘ती घटनाले मुलुकको स्वाधीनता, लोकतान्त्रिक प्रणाली र नेपाली कांग्रेसको अस्तित्वमाथिनै चोट पुर्‍याएको छ ।’ उनले घटनामा मारिएका युवाहरु र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी डा. आरजु राणा देउवामाथिको आक्रमण, पार्टीका नेताका घर तथा कार्यालयमा भएको तोडफोड र आगजनीलाई देशकै सार्वभौमिकता र गणतन्त्र माथिको हमला भन्दै कडा शब्दमा भत्सर्ना गरे ।

उनको भनेका छन्, ‘यो कुनै स्वतःस्फूर्त घटना होइन, यो योजनाबद्ध र राष्ट्रविरोधी गतिविधि हो, जसको निष्पक्ष अनुसन्धान र कानूनी कारबाही अनिवार्य छ ।’

विश्वकर्माले हालको जेन-जी पुस्ताले उठाएको ‘भ्रष्टाचार अन्त्य, सुशासन र पारदर्शिता’ को माग कांग्रेसकै पुरानो एजेन्डा भएको स्मरण गराए । उनले २०५८ सालमै कांग्रेस सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धिकरण आयोग, सतर्कता केन्द्र र राजस्व अनुसन्धान विभाग गठन गरेको जनाउँदै भने, ‘यी संवैधानिक निकाय हुँदाहुँदै पनि भ्रष्टाचार मौलाउँदै जानु हाम्रो लागि लज्जाको कुरा हो ।’

भाद्र २४ गतेको हिंसापछि प्रधानमन्त्रीले राजीनामा दिएपछि बनेको कामचलाउ सरकारले संविधान विपरीत संसद विघटन गरेको विश्वकर्माको आरोप छ । उनले संसद विघटन असंवैधानिक भए पनि नयाँ निर्वाचन मिति घोषणा सकारात्मक भएको बताए ।

उनले भने, ‘संविधानलाई मूल बाटोमा फर्काउने उपाय भनेको निर्वाचन हो । त्यसैले कांग्रेसले निर्वाचनलाई पहिलो प्राथमिकता दिनुपर्छ, अलमल गर्नु हुँदैन ।’

पार्टीभित्रको अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले कांग्रेसलाई ‘काम कुरा एकातिर, कुम्लो वोकि अकैतिर’ भन्ने उखानले चरितार्थ बनाएको बताए ।

उनले भ्रातृ संगठन गठनमा ढिलाइ, युवाहरुको दिशाहीनता र अनिर्णयले कांग्रेसको जनाधार कमजोर भएको उल्लेख गर्दै भने, ‘आज युवाहरु पार्टीभन्दा बाहिर किन पुगे ? यसको जवाफ नेतृत्वले दिनुपर्छ । अहिलेको अलमलको मूल्य कांग्रेसले महँगो चुकाउनेछ ।’

उनले नियमित अधिवेशन र आम निर्वाचन दुवैलाई समान महत्वका कार्य भन्दै तोकिएको समयमा सम्पन्न गर्न सुझाव दिए ।

उनले भने, ‘अधिवेशनले पार्टीमा उत्साह ल्याउँछ, निर्वाचनले देशमा आशा जगाउँछ । त्यसैले अधिवेशनको मिति तत्काल घोषणा गरी क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण र तयारी सुरु गरौं ।’

विश्वकर्माले अधिवेशन तयारीका लागि बिधान संशोधन, सदस्यता छानबिन, निर्वाचन समिति र आर्थिक स्रोत व्यवस्थापन समिति गठन गर्नुपर्ने प्रस्ताव गरे । साथै आम निर्वाचनका लागि प्रतिवद्धता पत्र, प्रचार समिति र पुनःसंगठन अभियान अघि बढाउन आग्रह गरे ।

पार्टीभित्र एकता र सुदृढीकरणका लागि उनले विगतमा अनुशासन कारबाहीमा परेका नेताहरुलाई सचेत गराउँदै एकपटकका लागि आम माफी दिन सुझाव दिए । उनले टिकट वितरणमा देखिएका कमजोरीलाई सुधार गर्न उम्मेदवार छनोट गर्ने जिम्मेवार व्यक्तिहरुलाई पनि उत्तरदायी बनाउने नीति ल्याउनुपर्ने बताए ।

विश्वकर्माले भने, ‘हाम्रो मुलुक संकटमा छ, व्यवस्था विरुद्ध प्रहार भइरहेका छन् । यस्तो बेला संयम, संवाद र सहकार्य नै कांग्रेस र देशलाई जोगाउने माध्यम हो । समयको महत्व बुझौं, अब अलमलबाट बाहिर निस्कौं ।’

प्रकाशित: २५ कार्तिक २०८२ १५:२२ मंगलबार