नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका १० वटै पालिकाको नेतृत्व चयन भएको छ । गाउँ तथा नगर अधिवेशनअन्तर्गत बागलुङका नौ स्थानीय तहमा सर्वसम्मत र एक स्थानीय तहमा मतदानमार्फत नेतृत्व चयन भएको हो ।
जिल्लाका ८५ वटै वडामा वडा अधिवेशनपछि वडा सभापतिसहितको नेतृत्व चयनपश्चात् १० वटै स्थानीय तहमा गाउँ तथा नगर सभापतिसहित नेतृत्व चयन पुरा भएको नेपाली कांग्रेस बागलुङका सचिव हरिहर शर्माले जानकारी दिए ।
बागलुङ नगरपालिकाको सभापतिमा नारायण पौडेल, ढोरपाटन नगरपालिकाको नगर सभापतिमा दीपक अदै र जैमिनी नगरपालिकाको सभापतिमा काशीराम आचार्य चयन सर्वसम्मत चयन भएका हुन्।
यस्तै, गलकोट नगरपालिकामा मतदानमार्फत हिमबहादुर भण्डारी सभापतिमा निर्वाचित भएका हुन् । ताराखोला गाउँपालिकाको सभापतिमा भीमबहादुर रोका, बरेङ गाउँपालिका सभापतिमा मोतिराम गौतम, काठेखोला गाउँपालिका सभापतिमा ज्ञामनाथ कँडेल, बडिगाड गाउँपालिका सभापतिमा रणबहादुर भुजेल, निसीखोला गाउँपालिका सभापतिमा खिमबहादुर कार्की र तमानखोला गाउँपालिका सभापतिमा झकबहादुर बुढा चयन भएको जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए । स्थानीय तहको अधिवेशन सकेर क्षत्रीय अधिवेशनको तयारीमा लागेको उनको भनाइ छ ।
प्रकाशित: १० आश्विन २०८३ २१:१६ शनिबार

-600x400.jpg)

