नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको वर्तमान नेतृत्व महाधिवेशन गर्न इच्छुक नदेखिएको आरोप लगाएका छन् । विशेष महाधिवेशनको मागलाई निष्कृय बनाउन र निर्वाचन अघि महाधिवेशन नगर्ने प्रपञ्चमात्र भएको दाबी उनको थियो।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले पार्टीको वर्तमान नेतृत्व तोकिएको समयभित्र महाअधिवेशन गर्न गम्भीर र संवेदनशील नदेखिएको आरोप लगाए । निर्वाचन जित्न कांग्रेसमा महाधिवेशन पहिलो सर्त रहेको उल्लेख गर्दै नेता पौडेलले निर्वाचनको तयारीलाई बहाना बनाएर महाधिवेशन धकेले कांग्रेसले नराम्रो हार भोग्ने ठोकुवा गरे । विशेष महाधिवेशनको माग अझै जिवित रहेको उल्लेख गर्दै उनले विधानमा भएको व्यवस्थालाई नेतृत्वले अब समय छैन, चुनावको मुखमा छौं भनेर टार्न नमिल्ने उल्लेख गरे ।
गाउँ, नगर, जिल्ला र प्रदेशको अधिवेशनका लागि तोकिएको समय थोरै भएको कारण प्रमाणित गराएर कांग्रेस नेतृत्व अधिवेशन लम्ब्याउने प्रपञ्चमा रहेको उनको आरोप थियो । यसले देशैभरका कार्यकर्तामा अन्योल सिर्जना भएको बताउँदै नेता पौडेलले केन्द्रीय समितिले देशभरका साथीहरु अन्योलमा राख्न नमिल्ने तर्क गरे ।
प्रकाशित: १० पुस २०८२ १६:२८ बिहीबार