राजनीति

कांग्रेस क्रियाशिल सदस्यता बढाउँदै, भोट घटाउँदै

मुलुकको सबैभन्दा पुरानो राजनीतिक दल नेपाली कांग्रेस यतिखेर आफ्नो १५औं महाधिवेशनको तयारीमा जुटेको छ । भदौ २३ गतेको हिंसा र २४ गतेको विध्वशंपछि कांग्रेसको मुख्य प्रतिष्पर्धा नेकपा एमालेले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनगरी सकेको छ । यसले महाधिवेशनको तयारी गर्दा ४८ दिनसम्म केन्द्रीय समितिको बैठक लम्ब्याएर कांग्रेस फागुन २१ ग्तेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन अघि वा पछि महाधिवेशन भन्ने विवादमा अलमलिएको थियो । 

बल्ल तल्ल पुस २६ गते देखि काठमाडौं महाधिवेशन गर्ने निर्णयमा कांग्रेस पुगेपनि त्यसको पूर्वाधारको रुपमा रहेको क्रियाशिल सदस्यताको विवाद र वितरण प्रक्रिया अझै अलमलमा परेको छ । मंसिर२५ गतेसम्म वडासम्म नयाँ सदस्यता पुर्‍याउने निर्णय गरेको कांग्रेसले शुक्रबार रातिसम्म जिल्ला तहमा सदस्यता फारम पुर्‍याएको दाबी गरेको छ ।

पार्टी सदस्यता व्यापक वितरण गर्ने जनाउँदै कांग्रेसले अहिले ६ लाख नयाँ सदस्यता फारम जिल्ला क्षेत्र हुँदै गाउँसम्म पुर्‍याएको जनाएको छ । २००३ सालमा बिपी कोइरालासहित केही युवाहरूले स्थापना गरेको यो पार्टीमा हेरक महाधिवेशनपछि क्रियाशिल सदस्यता लिने र दिनेक्रम बढ्दै गएको छ । नेपालको आर्थिक, राजनीतिक र सामाजिक परिर्वतनको अगुवाइ गर्दै आएको कांग्रेसले क्रियाशिल सदस्यको संख्या बढाउँदै लगेपनि पछिल्ला आम निर्वाचनमा उसले मत भने गुमाउँदै गएको छ ।

तन्नेरी पुस्तासँग सम्पर्क विच्छेद गर्दै गएको कांग्रेसले पार्टीको क्रियाशिल सदस्यता आम निर्वाचन जित्न र पार्टी संगठनलाई चलायमान बनाउन भन्दा पार्टीमा आफ्नो प्रभाव बढाउनका लागि निकटहरूलाई वितरण गर्ने परम्परा बढ्दै गएको गुनासो नेताहरूले नै गर्न थालेका छन् । सहरिया मतदाताको मन जित्न पनि नसकेको कांग्रेसले यति बेला दूरदराजका जनताको भरोसा बन्न नसकेको गुनासो बढिरहेका बेला पार्टी कसरी कब्जा गरेर आफ्नो भविष्य उज्ज्वल बनाउने भन्ने मनोग्रन्थीबाट नेताहरू उद्वेलित बन्दा कांग्रेसमा क्रियाशिल सदस्यता विवाद थप पेचिलो बन्ने गरेको छ ।

त्यही विवादले कांग्रेसको पुस २६ गतेका लागि तोकिएको महाधिवेशन सर्ने निश्चित भएको । महामन्त्री गगनकुमार थापा नेतृत्वमा क्रियाशिल सदस्यता वितरण र व्यवस्थापनका लागि डेढ वर्षअघि नै कांग्रेसले समिति गठन गरेको थियो ।तर, अहिलेसम्म नयाँ होइन क्रियाशिल सदस्यता नवीकरणको काम पनि सकिएको छैन । उक्त समिति सदस्य प्रकाश रसाइलीले नवीकरणको काम अन्तिमचरणमा पुगेको दाबी गरे । धनुषा, बारा, प्युठानसहितका केही जिल्ला बाहेक सदस्यता नवीकरणको काम टुंगो लागेको उनले दाबी गरे । १४औं महाधिवेशनअघि ७२ प्रतिशत क्रियाशिल सदस्यता नवीकरण भएको जनाउँदै उनले भने,‘यस पटक नवीकरणको संख्या त्योभन्दा बढि हुन्छ ।’

१४औ महाधिवेशनका बेला का्र्रंग्रेसले सतप्रतिशत सदस्यताथप गर्दै आठ लाख ५२ हजार बढि पुर्‍याएको थियो ।तर, २०७९ मंसिरमा भएके आम निर्वाचनमा कांग्रेसको मत बढेन । बरु अघिल्लो निर्वाचनकोभन्दा सात लाखभन्दा पनि काम मत कांग्रेसको पक्षमा परेको थियो । जबकी कांग्रेस महामन्त्री थापाले २०७९ को निर्वाचन अघि १५ लाख नयाँ मतदाता पार्टीमा थप गर्ने उद्घोष गरेका थिए । पार्टीमा युवाको आकर्षण बढाउन भन्दै १४औं महाधिवेशनमा क्रियाशील सदस्यता बढाएर दोब्बर बनाएकै हो । २०७९ को निर्वाचनमा सात लाख ५४ हजार मत गुमाएर २७ लाख १५ हजार दुई सय २५ अर्थात् २५.७१ मत मात्र पाएको थियो ।

कतिपय निर्वाचन क्षेत्रमा पार्टीले पाएको समानुपातिकको मतभन्दा क्रियाशिल सदस्य संख्या बढि रहेको जानकारी दिंदै एक नेताले भने,‘पहिलो एउटा टोलमा एक जना क्रियाशिल सदस्य भएपनि सबैजसो कांग्रेसका मतदाता हुन्थे । अहिले टोलभरी कांग्रेसका क्रियाशिल सदस्य छन् तर, आम निर्वाचनमा पार्टीको पक्षमा मतदान भने घट्दै गएको छ ।’ पार्टीको हरेक निकायमा आफ् टिक्न र आफ्नो प्रभुत्व जोगाउन सदस्यता बाँड्नेक्रमले संख्या बढेपनि पार्टी कमजोर बनेको ती नेताको बुझाइ छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबिच एकीकरण हुँदा कांग्रेस क्रियाशिल सदस्य संख्या पाँच लाख पुगेको थियो । उसले २१.१४ प्रतिशत मत पाएको थियो । १२औं महाधिवेशनबाट साढे चार लाख सदस्यता कायम गरेको कांग्रेसले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा २५.५५ मत पाएको थियो भने २०७२मा भएको १३औं महाधिवेशनमा पनि सोही अनुसारको क्रियाशिल सदस्यता कांग्रेसमा कायम थियो ।२०७४ सालमा भएको आम निर्वाचनमा ३२.७७ प्रतिशत मत कांग्रेसले पाएको थियो । अहिले आठ लाख सदस्यता नवीकरण गर्नुको साथै छ लाख नयाँ सदस्यता वितरणका लागि कांग्रेसले पठाएको छ । पार्टीको सदस्यता बढाएपनि कांग्रेसले आगामी निर्वाचनमा मत बढाउनेभन्दा अहिलेको अवस्थामा घटाउने सम्भावना बढि रहेको नेताहरू नै स्विकार गर्दछन् ।

यद्यपी कांग्रेस महामन्त्री गगनकुमार थापाले २०८१ असार १० गते एक सार्वजनिक कार्यक्रममा यही निर्वाचन प्रणालीबाट २०४८ सालमा जस्तो ४० प्रतिशतभन्दा बढी मत ल्याएर आफ्नो दल नेपालको सबैभन्दा ठुलो मात्रै होइन, पाँच वर्ष आफ्नो तागतका आधारमा एकल सरकार चलाउन सक्ने पार्टी बनाउने र बन्ने घोषणा गरेका छन् । त्यसमै कांग्रेस र तिनका नेता तथा कार्यकर्ता ढुक्क देखिएका होलान् । तर, संस्थाभन्दा गुट र व्यक्ति हाबी हुँदै जाँदा कमजोर बनेको कांग्रेसले जनताको मन जितेर मत लिने कुरा विगतमा जति सहज देखिएको छैन ।

प्रकाशित: ६ पुस २०८२ २१:४१ आइतबार