नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलियाको मोबाइल घरमा लगेर छेडखानी गरेको आरोप लगाएका छन्।
बिचौलिया भनिएका इमान सापकोटाको मोबाइल बेनले आफ्नो घरमा लगेर ‘१८ करोड’ को म्यासेज थपेको महामन्त्री राणाले दाबी गरेका हुन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फन्ट्रलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै राणाले यस्तो बताएका हुन्।
अनुसन्धानमा रहेको मोबाइल फोन प्रधानमन्त्रीका सल्लाहकारले दुई दिनसम्म कुपण्डोलस्थित आफ्नो घरमा राखेर प्रमाण नष्ट गरेको र नक्कली म्यासेज खडा गरेको उनको आरोप छ।
‘अनुसन्धानमा राखेको मोबाइल फोन प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले दुई दिनसम्म उसको कुपण्डोलको घरमा गएर राख्न मिल्छ ?’ राणाले प्रश्न गर्दै भने, ‘दुई दिनसम्म त्यो फोन गायब छ, त्यहाँ जे म्यासेज हाले पनि हुन्न ? १८ करोड होइन सय करोड पनि हाल्दिन्छु नि त्यहाँ। जुन कम्युनिकेसन प्रधानमन्त्री र कुमार बेनसँग भएको हो, त्यो सबै डिलिट भएको छ।’
महामन्त्री राणाले कांग्रेस सभापति गगन थापा र इमान सापकोटाबीच कहिल्यै भेट नभएको सुनाए।
सापकोटा उल्टै प्रधानमन्त्री र उनको सचिवालयसँग अत्यन्तै निकट रहेको उनको दाबी छ। ‘इमान सापकोटाले चुनावमा रास्वपाको प्रचारमा हिँडेको र प्रधानमन्त्रीसँगै फोटो खिचाएको व्यक्ति हो,’ उनले भने, ‘हरि फुयालले प्रधानमन्त्री र कुमार बेनको कनेक्सनको आधारमा सापकोटालाई भेटेका हुन्, हाम्रा सभापतिले चिनेकै छैनन्।’
प्रहरी अनुसन्धान सुरु हुनुअघि नै भिडियो सार्वजनिक गरिएको भन्दै राणाले यसलाई ‘मिडिया प्रोपोगान्डा’ भने। अनुसन्धानका क्रममा लिइएको बयानको भिडियो खिचेर बाहिर निकाल्नु गैरकानुनी भएको उनको भनाइ छ।
संसद् खुल्ने बित्तिकै कांग्रेसले यो विषय उठाउने र छानबिन समिति गठन गरेर प्रहरी तथा सरकारलाई प्रश्न गर्ने राणाले चेतावनी दिए।
सरकारले आफूहरूलाई तर्साउन खोजेको भन्दै उनले कांग्रेस कसैसँग नडराउने बताए। ‘हामी कुनै पनि निष्पक्ष अनुसन्धान गर्नको निम्ति तयार छौं, त्यो पार्टी सभापति होस् वा महामन्त्री,’ राणाले भने, ‘तर अनुसन्धान इमान सापकोटाको प्रधानमन्त्री कार्यालयसँगको सम्बन्धमाथि हुनुपर्छ।’
प्रकाशित: १८ कार्तिक २०८३ २१:३० बुधबार