राजनीति

कांग्रेस महामन्त्रीको टिप्पणी : जेन–जी आन्दोलनले खबरदारी गरेपछि सच्चिएर आयौँ

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकको अपेक्षा अनुसार नीति र नेतृत्व दुवै सच्चिएर आएकाले पार्टीले नागरिकको विश्वास जित्ने दाबी गरेका छन् ।

काठमाडौँ–५ मा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार समेत रहेका महामन्त्री पौडेलले सोही क्षेत्रको क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै यस्तो बताएका हुन् । 

उनले भदौ २३ को जेन–जी आन्दोलनले आफूहरूलाई नै खबरदारी गरेको पनि बताए । जेन–जीकै खबरदारीपछि कमजोरी स्वीकार गरेर नागरिकले चाहेजस्तै परिमार्जन र रूपान्तरण गरेर कांग्रेस निर्वाचनमा होमिएको उनले टिप्पणी गरे । 

‘तपाईँले भने जस्तो कांग्रेस बन्यो । तपाईँले खोजेजस्तो कांग्रेसले नै देश रूपान्तरण गर्छ,’ महामन्त्री पौडेलले भने,‘मत दिएर सघाउनुस् भनेर आम मतदातासँग भन्न जरुरी छ।’ 

भदौ २३ को जेनजी आन्दोलनलाई उनले कांग्रेसलाई नै खबरदारी गर्ने गरी नेपाली क्रान्ति भनेर टिप्पणी गरे। उनले भने, ‘हामीले गगन थापाको नेतृत्वमा कमजोरी स्विकार्न ढिला गरेनौँ । भित्रबाटै सच्चिनुपर्छ भनेका थियौँ । अन्ततः नागरिकले चाहेजस्तो परिमार्जन र रूपान्तरण गरेर निर्वाचनमा होमिएका छौँ ।’ 

नेतृत्व र विचार परिवर्तन गरेर आएको भन्दै उनले नागरिकले सच्चिएर रूपान्तरित भएर आउँ भनेकाले त्यसै अनुसार सच्चिएको बताए । जन्मको आधारमा पुरानो भए पनि विचारले कांग्रेस नयाँ जन्मको आधारमा पुरानो भए पनि विचारका आधारमा कांग्रेसजस्तो नयाँ अरू हुन नसक्ने भन्दै उनले कसैबाट विचार आयात गरेर जबरजस्त राजनीति नगरेको बताए ।

आम नागरिकले नेतृत्व परिवर्तन गरेर र नीतिमा प्रष्टता गरेर आउँ भनेकाले त्यसैलाई आत्मसात् गरेर भावी कार्यक्रममा प्रस्टसाथ ब्रेन ड्रेनसहितका समस्या सम्बोधन गर्दे देश बदल्ने १० एजेन्डा लिएर आउने उनले बताए । 

प्रकाशित: २४ माघ २०८२ १७:०६ शनिबार