राजनीति

कांग्रेस महामन्त्री राणाको चुनौती- सरकारले जसलाई अनुसन्धान गर्न चाहन्छ गरोस्, हामी डराउँदैनौं

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वर्तमान सरकारले मिडिया, अदालत र कर्मचारीतन्त्रलाई तर्साउन खोजेको भन्दै कांग्रेस कसैसँग नडराउने बताएका छन्।

बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फन्ट्रलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै महामन्त्री राणाले सरकारलाई कांग्रेस सभापतिसहित जोसुकैमाथि अनुसन्धान गर्न चुनौती दिए।

पछिल्लो समय बिचौलिया भनिएका इमान सापकोटा र कांग्रेस सभापति गगन थापालाई जोडेर बाहिरिएको १८ करोडको अडियो प्रकरणलाई उनले ‘मिडिया प्रोपोगान्डा’ भने।

पार्टी सभापति थापाले सापकोटालाई कहिल्यै नभेटेको दाबी गर्दै राणाले ती बिचौलियाको प्रधानमन्त्री र उनका प्रमुख सल्लाहकार कुमार बेनसँग निकट सम्बन्ध रहेको जिकिर गरे।

महामन्त्री राणाले सरकारले राज्य संयन्त्रलाई त्रसित बनाएको आरोप लगाए। ‘बिहान उठ्ने बित्तिकै व्यापारी, पत्रकार र कर्मचारीलाई तर्साउने र थुन्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले न्यायाधीशहरूलाई थुरथुर पारिएको छ, अख्तियार प्रमुखलाई ल्याएर सिंहदरबारमा थुनेर छुट्टै जेल बनाइएको छ।’

देश प्रधानमन्त्री वा कर्मचारीले नभई भूमिगत गिरोहले चलाइरहेको उनको दाबी छ। मन्त्रालयका सचिवहरूले गर्नुपर्ने काम प्रधानमन्त्री कार्यालयका सल्लाहकारहरूले गरेर राज्यको मेसिनरीलाई नै ‘प्यारालाइज’ गरेको उनले बताए।

अडियो प्रकरणको अनुसन्धान प्रक्रियामाथि प्रश्न उठाउँदै उनले प्रहरी अनुसन्धान सुरु नहुँदै भिडियो बाहिरिनु गैरकानुनी भएको बताए।

अनुसन्धानमा रहेको मोबाइल फोन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनले दुई दिनसम्म आफ्नो घरमा राखेको दाबी गर्दै राणाले उक्त अवधिमा म्यासेजहरू डिलिट गरिएको र १८ करोडको कुरा थपिएको आरोप लगाए।

यस विषयमा संसद् खुल्ने बित्तिकै कांग्रेसले प्रहरी र सरकारलाई प्रश्न गर्ने उनले सुनाए।

कांग्रेस सभापति थापाले नेकपा एमालेका अध्यक्षलाई गरेको भेटबारे प्रस्ट पार्दै राणाले उक्त भेट मुख्यगरी मधेस प्रदेश सरकारको विषयमा केन्द्रित रहेको बताए।

मधेसमा कांग्रेस नेतृत्वको सरकारलाई बहुमत जुटाउन वा राजीनामा दिएर विपक्षमा बस्ने भन्ने विषयमा स्पष्ट हुन उक्त भेट गरिएको उनले जानकारी दिए।

त्यसैगरी, पार्टीभित्र इतर पक्षले छुट्टै महाधिवेशन गर्न लागेको सन्दर्भमा सोधिएको प्रश्नमा महामन्त्री राणाले असन्तुष्ट नेताहरूलाई कारबाही गर्नुभन्दा पनि समेटेर अगाडि बढ्ने पक्षमा पार्टी रहेको बताए।

१४औं महाधिवेशनमा अधिकांश नेता तथा कार्यकर्ता समेटिइसकेको र बाहिर रहेका बाँकी साथीहरूलाई पनि मिलाउने प्रयास भइरहेको उनले बताए।

राणाले लोकतन्त्र, संविधान, प्रेस स्वतन्त्रता र स्वतन्त्र न्यायपालिकाको रक्षाका लागि कांग्रेस अब सशक्त रूपमा बोल्ने र सरकारको कुनै पनि धम्कीबाट पछि नहट्ने चेतावनी दिए।

‘कांग्रेसलाई राणा, पञ्चायत र राजा ज्ञानेन्द्रले पनि तर्साउन सकेनन्,’ उनले भने, ‘हामी कोहीसँग तर्सिंदैनौँ, सरकारले जे सक्छ गरोस्।’

प्रकाशित: १८ कार्तिक २०८३ २१:१४ बुधबार