राजनीति

कांग्रेस महामन्त्री पौडेलको आग्रह : पार्टीभित्रको विवाद बिर्सिएर एकजुट होऔँ

फाइल तस्बिर

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता तथा कार्यकर्तालाई आन्तरिक कलह बिर्सेर एकजुट हुन आग्रह गरेका छन्।

देशका हरेक संकटमा कांग्रेस सधैँ एकजुट रहँदै आएको स्मरण गराउँदै पौडेलले विगतमा पार्टीले हासिल गरेका ऐतिहासिक सफलताहरू एकताकै बलमा सम्भव भएको बताएका छन्। एक्समा उनले भनेका छन्, ‘अहिलेको प्रतिकूलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न। म पार्टी महामन्त्री मात्र नभई एक इमान्दार कार्यकर्ताका रूपमा भन्दैछु, हामी सबै एकजुट होऔँ।’

पौडेलले एकतामा नै शक्ति रहेको उल्लेख गर्दै यसैको बलमा कांग्रेसले फेरि उज्यालो भविष्य प्राप्त गर्ने विश्वास व्यक्त गरेका छन्। उनले सबै नेता र कार्यकर्तालाई पार्टी हितका लागि आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन्।

कांग्रेसको संस्थापनइतर (शेरबहादुर देउवा र शेखर कोइराला) समूहको केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि उनले यस्तो अनुरोध गरेका हुन्। तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको बैठक आज ११ बजे धुम्बाराहीमा बस्दैछ।  

एक्समा जारी उनको सन्देश हेर्नुस्
देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रह्यो, एकजुट रह्यो। त्यो एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्‍यो र सफलता पनि हासिल गर्‍यो।
यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न। म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु- हामी सबै एकजुट होऔँ !
म नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा अनुरोध गर्छु- एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौँ।

प्रकाशित: १७ चैत्र २०८२ ०९:२७ मंगलबार