राजनीति

नयाँ सरकारलाई कांग्रेसको पूर्ण समर्थन, प्रदीप पौडेलले सुझाए चार महत्वपूर्ण काम

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहने बताएका छन्। 

सामाजिक सञ्जालमार्फत जारी एक भिडियो सन्देशमा उनले भ्रष्टाचारविरुद्ध स्पष्ट नीति अभावमा पार्टी रक्षात्मक अवस्थामा पुगेको स्वीकार गर्दै नयाँ सरकारलाई प्रभावकारी काम गर्न चार वटा सुझाव प्रस्तुत गरेका छन्।

पौडेलले नयाँ सरकारका लागि सुझाएका मुख्य कदमहरूमा २०४६ सालपछि प्रशासनिक र राजनीतिक नेतृत्वमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन, नागरिक अपेक्षाअनुरूप संविधान संशोधन आयोग, निष्पक्ष निर्वाचनको सुनिश्चितता र आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिको क्षति गर्नेमाथि अनुसन्धान तथा कारबाही रहेका छन्।

उनले पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै नेपाली कांग्रेस सुशासन र भ्रष्टाचारविरुद्ध थप स्पष्ट र धारिलो भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। ‘हामी अब विचारमा स्पष्टता र सुशासनको पक्षमा अझ सशक्त भएर प्रस्तुत हुनेछौँ,’ पौडेलले भने। 

भिडियो सन्देश जारी गर्दै उनले लेखेका छन्

अबको हाम्रो अभिभारा: 

१) २०४६ यता प्रशासनिक तथा राजनीतिक नेतृत्वमा रहेकाहरूको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग 

२) नागरिकको अपेक्षा अनुरूपको संविधान संशोधन आयोग 

३) निष्पक्ष निर्वाचन 

४) आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्तिको क्षति गर्नेमाथि अनुसन्धान र कारबाही

साथै, अब हामी नेपाली कांग्रेसको विचारमा स्पष्टतासँगै सुशासन अनि भ्रष्टाचारविरुद्ध अझ धारिलो भएर प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

प्रकाशित: २८ भाद्र २०८२ ०८:१४ शनिबार