राजनीति

पेचिलो बन्दै कांग्रेस विवाद : समानान्तर गतिविधिमा देउवा पक्ष

नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि पेचिलो बन्न पुगेको छ । केही समयदेखि सुस्ताएको कांग्रेसभित्रको विवाद एमाले अध्यक्ष केपी ओली र कांग्रेस नेता रमेश लेखकलाई सरकारले गिरफ्तार गरेसँगै सतहमा आएको हो ।

सरकारले भदौ २३ गतेको हिंसाको आरोपमा तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई शनिबार गिरफ्तार गरेको थियो । त्यससँगै पुस अन्तिम साता विशेष महाधिवेशनबाट आएको नेतृत्व र त्यसको विपक्षमा अदालत गएको पक्षले अलग–अलग धारणा बाहिर ल्याएका छन् । माघ २ गते विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि अर्को पक्ष सर्वोच्च अदालत पुगेको छ । उक्त विषयमा अदालतले निर्णय गर्न बाँकी रहेका बेला ओली र लेखकको गिरफ्तारीका विषयमा कांग्रेसको संस्थापन र अर्को पक्षले फरक–फरक धारणा सार्वजनिक गरेका थिए । त्यससँगै कांग्रेसभित्र सुसुप्त रहेको विवाद सतहमा आएको हो ।

विशेष महाधिवेशनबाट पार्टीको नेतृत्वमा पुगेको पक्षले पूर्णबहादुर खड्कासहितका नेताहरूलाई अनुशासनको कारबाही गर्ने तयारी थालेको छ । सोही बेला खड्कासहित विशेष महाधिवेशनमा सहभागी नभएको अर्को पक्षले सोमबार संघीय संसद्मा नवनिर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ ।

मंगलबार १४औँ महाधिवेशनबाट आएको केन्द्रीय समितिको बैठक बोलाइएको छ । प्रदेश सभापतिसहितका नेताहरूलाई बैठकमा आमन्त्रण गरिएको एक सदस्यले जानकारी दिए । त्यस्तै, उनीहरूले चैत १९ गते जिल्ला सभापतिहरूको भेला बोलाएका छन् । केन्द्रदेखि तल्लो तहसम्म समानान्तर गतिविधि गर्ने गरी अर्को पक्षले तयारी थालेको एक सदस्यले जानकारी दिए ।

अदालतले पार्टीको आधिकारिकताको विषयमा कुनै छिनोफानो नगरेकाले संगठन चलायमान गर्ने गरी गतिविधि अघि बढाउन लागिएको ती नेताको दाबी छ । त्यसको क्रम शनिबारबाट सुरु भएको जनाउँदै ती नेताले अब निरन्तर चल्ने दाबी गरे । सोमबार संघीय संसद्मा नवनिर्वाचित सांसदहरूलाई शुभकामना दिने कार्यक्रम राखिएको हो ।

त्यसक्रममा खड्काले प्रतिनिधिसभा र राष्ट्रियसभामा निर्वाचित पार्टीका सांसदहरूको भूमिका अनुकरणीय र प्रभावकारी रहने बताए । दुवै सदनका बैठकहरूमा राष्ट्र र जनताको हितमा काम गर्न उनले आग्रह गरे । नेपाली जनताको हक र अधिकारका लागि कांग्रेसले वर्षौँ लडेको स्मरण गर्दै लोकतान्त्रिक गणतन्त्रको संविधान र त्यसले उपलब्ध गराएको नेपाली जनताको अधिकार उपभोग र उपयोग सुनिश्चित गर्ने भूमिका प्रखर रूपमा निर्वाह गर्न उनले आग्रह गरे ।

कार्यक्रममा नेता शेखर कोइरालाले संसद्मा समन्वय गरेर अघि बढ्न आग्रह गरे । देश, जनता, संविधान र विकासका मुद्दामा केन्द्रित हुन कोइरालाले आग्रह गरेका थिए ।

त्यसअघि नेता प्रकाशशरण महतले एक भिडियो सन्देशमार्फत विशेष अधिवेशनमा जोडिएका तथा नजोडिएका पंक्ति एउटा साझा बिन्दुमा पुगेर महाधिवेशनमा जानुपर्ने बताएका छन् । नियमित अधिवेशन गर्न आयोजक समिति बनाएर पार्टीलाई एकताबद्ध बनाएर जानुपर्ने उनले तर्क गरेका छन् ।

विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले असोजको दोस्रो साता महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । त्यसलाई अर्को पक्षले अस्वीकार गर्दै समानान्तर गतिविधि सुरु गरेको हो । त्यससँगै विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वसहितका पदाधिकारी कसरी अघि बढ्ने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।

प्रकाशित: १६ चैत्र २०८२ १७:०४ सोमबार