नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनका लागि सात लाख ८३ हजार ८३६ क्रियाशील सदस्यको विवरण टुंग्याएको छ। संस्थापन पक्षसँग समानान्तर रूपमा महाधिवेशनको तयारी गरिरहेको उक्त समूहले शनिबार क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई हस्तान्तरण गर्नुका साथै नयाँ अनलाइन पोर्टलसमेत सार्वजनिक गरेको हो।
काठमाडौंको महाराजगन्जस्थित चुनदेवी सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको उपस्थितिमा सदस्यताको विवरण निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई बुझाइएको हो।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरण पौडेलका अनुसार कुल सदस्यमध्ये पाँच लाख ७३ हजार २६९ पुराना सदस्यको नवीकरण गरिएको छ भने दुई लाख १० हजार ५६७ नयाँ सदस्य थपिएका छन्।
पौडेलले विगतका महाधिवेशनमा क्रियाशील सदस्यतासम्बन्धी विवादका कारण अधिवेशन प्रभावित भएको उल्लेख गर्दै यसपटक त्यस्तो समस्या दोहोरिन नदिन सदस्यताको विवरण व्यवस्थित गरेर निर्वाचन समितिलाई हस्तान्तरण गरिएको बताए।
समूहले सदस्यता वितरण र नवीकरणलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। सोही अवसरमा सार्वजनिक गरिएको नयाँ वेबसाइटमार्फत आगामी दिनमा क्रियाशील सदस्यताका लागि अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ।
वेबसाइट विकासकर्ता ज्ञानेन्द्र भट्टले चार दिनमै वेबसाइट तयार गरिएको जानकारी दिँदै यसमा साइबर सुरक्षालाई विशेष ध्यान दिइएको बताए। हाल नयाँ सदस्यताको प्रक्रियामा केन्द्रित वेबसाइटलाई आगामी दिनमा थप व्यवस्थित र विस्तार गर्दै लैजाने तयारी छ।
निर्वाचन समितिका संयोजक पोखरेलले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाए। उनका अनुसार असोज १५ गतेदेखि देशभर वडा अधिवेशन सुरु हुनेछ। अधिवेशनका नतिजा तत्काल सार्वजनिक गर्ने गरी तयारी भइरहेको उनले बताए।
देउवा समूहले आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। यसअघि नै समूहले देशभर केन्द्रीय प्रतिनिधि परिचालन गर्नुका साथै ५५ जिल्लामा महाधिवेशन तयारीका लागि संयोजक तोकेको छ।
महाधिवेशन तयारी समितिले सबै तहका कार्यसमितिमा १८ देखि २८ वर्ष उमेर समूहका एक महिला र एक पुरुष नवयुवाको प्रतिनिधित्व अनिवार्य गर्ने व्यवस्था पनि निर्वाचन निर्देशिकामा समेटेको छ।
यसैबीच, पार्टी सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले भने असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ। संस्थापन पक्षका अनुसार वडा अधिवेशन सम्पन्न भइसकेका छन् भने गाउँ तथा नगर अधिवेशन जारी छन्।
कांग्रेसका दुई पक्षबीच क्रियाशील सदस्यता अद्यावधिक र महाधिवेशनमा सहभागी हुने सदस्यको योग्यताका विषयमा यसअघिदेखि मतभेद रहँदै आएको छ। संस्थापन पक्षले डिजिटल प्रणालीमार्फत अद्यावधिक भएका सदस्यलाई महाधिवेशनमा सहभागी गराउने व्यवस्था अघि सारेको छ। देउवा पक्षले भने यसअघि नवीकरण गरिसकेका सदस्यलाई पुनः अद्यावधिक नगरेकै आधारमा महाधिवेशनबाट वञ्चित गर्न नहुने अडान राख्दै आएको छ।
दुवै पक्षले छुट्टाछुट्टै कार्यतालिका र सदस्यता व्यवस्थापन अघि बढाएसँगै कांग्रेसभित्र महाधिवेशनको आधिकारिकता र सदस्यता विवाद थप पेचिलो बनेको छ।
प्रकाशित: १० आश्विन २०८३ २१:३८ शनिबार

-600x400.jpg)

