नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। उनले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय, सर्वधार्मिक तथा नागरिक संवाद संयन्त्र गठन गर्नुपर्ने बताएका हुन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले देशमा देखिने सामाजिक तथा धार्मिक तनावका प्रारम्भिक संकेत देखिनासाथ संवाद सुरु गर्न सक्ने स्थायी संयन्त्र आवश्यक रहेको बताए। हिन्दु, मुस्लिम, बौद्ध, किरात, इसाई लगायतका धार्मिक समुदाय, स्थानीय सरकार, नागरिक समाज, महिला, युवा तथा सुरक्षा निकायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने बताए।
सुनसरी घटनाबारे बोल्दै उनले घटनाको वास्तविक कारण, सुरक्षा व्यवस्थामा देखिएका कमजोरी, अफवाहको भूमिका तथा राज्यको प्रतिक्रियासम्बन्धी विस्तृत प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे। राईले सामाजिक सञ्जालमार्फत घृणा फैलाउने र झुटा सूचना प्रवाह गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने बताए। तर, कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा राख्न नहुने उनको भनाई थियो।
उनले सरकारलाई पारदर्शी, सहयोगी र उत्तरदायी बन्न आग्रह गर्दै संवेदनशील निर्णयहरू बन्द कोठामा नभई खुला राष्ट्रिय संवादबाट अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। ‘असहमति निषेध गरेर एकता कायम हुन सक्दैन। खुला, इमानदार र सम्मानजनक छलफलले मात्र विश्वास निर्माण गर्छ, र विश्वासले मात्र दिगो समाधान दिन्छ,’ उनले भने।
सरकार र आन्दोलनरत पक्षबीच भएको १३ बुँदे सहमतिप्रति पनि उनले प्रश्न उठाउँदै त्यसको संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया तथा समयसीमाबारे संसद र नागरिकलाई स्पष्ट जानकारी गराउन सरकारसँग माग गरे।
उनले घृणाभन्दा संवाद, अफवाहभन्दा सत्य, प्रतिशोधभन्दा न्याय र विभाजनभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै यही मार्ग संविधानको मर्म र नेपालको भविष्यका लागि आवश्यक रहेको बताए।
प्रकाशित: १९ श्रावण २०८३ १३:४१ मंगलबार