राजनीति

भारतीय जेलमा रहेका नेपाली किसानको शीघ्र रिहाइका लागि कांग्रेसको माग

नेपाली कांग्रेसले भारतीय जेलमा रहेका सर्लाहीका दुई नेपाली किसानको शीघ्र रिहाइका लागि सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गरेको छ। पार्टीले रासायनिक मलको अभावका कारण भारतीय बजारबाट मल खरिद गरेर फर्किने क्रममा पक्राउ परेका किसानको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

कांग्रेसका अनुसार सर्लाहीको बलरा नगरपालिका निवासी सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह समयमै बजारमा रासायनिक मल उपलब्ध नभएपछि सीमावर्ती भारतीय बजार सोनवरसाबाट मल खरिद गरी फर्किने क्रममा भारतीय सुरक्षा निकायले पक्राउ गरेको थियो। उनीहरूलाई विगत २० दिनदेखि भारतको बिहार राज्यस्थित सीतामढीको डुमरा जेलमा राखिएको जनाइएको छ।

पार्टीले उनीहरू आफ्नै खेतीका लागि दुई बोरा युरिया र डीएपी मल खरिद गर्न गएको जानकारी प्राप्त भएको उल्लेख गर्दै यस्तो अवस्थामा किसान जेलमा रहनु दुःखद र विडम्बनापूर्ण भएको जनाएको छ। साथै, मलको अभावका कारण किसानले भोग्नुपरेको समस्याप्रति सरकारले गम्भीर हुनुपर्ने कांग्रेसको भनाइ छ।

कांग्रेसले नेपाल सरकारलाई किसानहरूको रिहाइका लागि कूटनीतिक, कानुनी र व्यवहारिक पहल तत्काल अघि बढाउन आग्रह गरेको छ। साथै, भारत सरकारसँग पनि नेपाल–भारतबीचको ऐतिहासिक मित्रता, खुला सीमा र दुई देशका नागरिकबीचको आत्मीय सम्बन्धलाई सम्मान गर्दै मानवीय आधारमा उनीहरूको अविलम्ब रिहाइ गर्न अनुरोध गरेको छ।

दुई देशबीचको सम्बन्ध सरकार–सरकारमा मात्र सीमित नभई जनस्तरको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै कांग्रेसले यस्ता संवेदनशील विषयलाई सोही भावनाअनुसार समाधान गर्न दुवै सरकारसँग आग्रह गरेको छ।

प्रकाशित: ७ श्रावण २०८३ २०:३५ बिहीबार