राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

फाइल तस्बिर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार) पनि बस्ने भएको छ। बैठक बिहान ११:३० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।

यसअघि सोमबार बसेको बैठकले खाना पकाउने ग्यासको आयात बढाएर भण्डारण सुनिश्चित गर्न, आपूर्ति सञ्जाललाई व्यवस्थित र सहज बनाइ जनतालाई राहत दिन सरकारसँग माग गरेको थियो।

हिजोको बैठकमा ग्यासको विकल्पमा विद्युत्को प्रयोगलाई प्रोत्साहन गर्न, उपभोक्तालाई ‘इन्डक्सन’ चुलोलगायतका उपकरणमा सहुलियत दिन र ग्यास विस्थापन गर्ने स्पष्ट तथा दीर्घकालीन ऊर्जा नीति अविलम्ब लागू गर्न माग गरिएको थियो।

बैठकले किसानलाई सहज रूपमा अनुदानको रासायनिक मल उपलब्ध गराउन, कालोबजारी र बिचौलियाको अन्त्य गर्नुपर्नेमा जोड दिएको छ। यस्तै, साना तथा मझौला किसानका उत्पादनले उचित बजार र समर्थित मूल्य पाउने ग्यारेन्टी गर्न तथा सीमावर्ती क्षेत्रका किसानले भोग्नुपरेको सास्तीको स्थायी समाधान गर्न माग गरेको छ।

सभापति गगनकुमार थापाको सभापतित्वमा साउन २४ गतेदेखि केन्द्रीय समितिको बैठक सुरु भएको हो।

प्रकाशित: २६ श्रावण २०८३ ०९:२६ मंगलबार