राजनीति

कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षमा आठ जनासहित १७ को नाम सिफारिस

नेपाली कांग्रेस अर्घाखाँचीले आगामी माघ ११ गते हुने राष्ट्रियसभा तथा फागुन २१ गते हुने प्रतिनिधिसभा (प्रत्यक्ष र समानुपातिक) मा उम्मेदवारहरू सिफारिस गरेको छ।

जिल्ला कार्यसमितिको बैठकले प्रत्यक्षमा आठ जना, समानुपातिकमा ६ र राष्ट्रिय सभामा ३ जनाको नाम सिफरिस गरेको हो। आकांक्षी धेरै भएपछि केन्द्रीय मापदण्डविपरीत तोकिएभन्दा बढी उम्मेदवारहरू सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए। ‘सहमतिको अधिकांश प्रयत्न गरेका हौं,' उनले भने, ‘आकांक्षी धेरै हुनुभएकाले थोरै मापदण्ड मिचिन पुग्यो।’

प्रत्यक्षतर्फ पूर्व केन्द्रीय सदस्य तथा पूर्व मन्त्री रेवतीप्रसाद भुसालसहित ८ जना सिफरिस भएका हुन्। पूर्व पार्टी सभापति कमलप्रसाद भुसाल, प्रदेश सहमहामन्त्री बिष्णुप्रसाद खनाल ‘मुस्कान’, महाधिवेशन प्रतिनिधिहरू लेखनाथ पोख्रेल, मुक्तीराम श्रेष्ठ, जयबहादुर टण्डन, ताराप्रसाद श्रेष्ठ, पार्टी उपसभापति बाबुराम पौडेल पनि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।

यसपालि नेपाली कांग्रेसका प्रभावशाली नेतृ पुष्पा गौतम भुसाल ‘सेफ जोन’मा बसेकी छन्। उनले प्रत्यक्ष निर्वाचनबाट पछि हटेर समानुपातिकमा बस्ने चाहना राखेकी छन्। गत निर्वाचनमा प्रत्यक्ष लड्दा नेकपा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी भुसाल यसपालि समानुपातिकमा सिफरिस भएकी हुन्।

समानुपातिकमा नेतृ भुसालसहित अर्की प्रभावशाली नेतृ निर्मला क्षेत्री पनि समानुपातिकमा सिफरिस भएकी छन्। पूर्व प्रदेश सांसद क्षेत्री समेत सम्भावना बोकेकी नेतृको रूपमा स्थापित छन्। यसका अलावा मणिराम परियार, ललिता सुनार, राजेन्द्र केसी र बिष्णुप्रसाद अर्याल समानुपातिकमा सिफारिस भएका छन्।

यस्तै राष्ट्रिय सभामा डा. रामबहादुर बिसी, पिताम्बर शर्मा भुसाल र बालकृष्ण पाण्डे सिफारिस भएका छन्।

कांग्रेसका युवाहरूको विरोधका बिच उम्मेदवार सिफरिस

नेपाली कांग्रेसका ४० वर्षमुनिका युवाहरूले एकल उम्मेदवार सिफरिस गर्नुपर्ने अडान लिए पनि त्यस अनुसार जिल्ला कार्यसमितिले निर्णय गर्न सकेन। उम्मेदवार छनौट गरेर एकल रूपमा सिफारिस गर्नुपर्ने, पटक–पटक अवसर पाएकालाई सिफारिस गर्न नहुने, प्रत्यक्ष निर्वाचनमा युवा अनुहार हुनुपर्ने उनीहरूको माग थियो।

प्रत्यक्ष, समानुपातिक र माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि एक–एक जना मात्रै उम्मेदवारको नाम सिफारिस नगरे जिल्ला कार्यसमितिविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिने युवा समूहको चेतावनीका बिच कार्यसमितिले ठुलो संख्यामा उम्मेदवारहरू सिफारिस गरेपछि युवाहरू थप आक्रोशित भएका छन्।

क्षेत्रीय उपसभापति अर्जुन पोख्रेल नेतृत्वमा तरुण दल अध्यक्ष नारायण खड्का, राजकुमार श्रेष्ठ, गोपाल खनाल, सन्जय पाण्डे, हलिम खान लगायतका युवाहरूले जिल्ला कार्यसमितिले गलत निर्णय गरेकाले अविलम्ब सच्चाउन माग गरेका छन्।

युवाहरूको मनोभावनाको कदर त पछिको कुरा केन्द्रीय मापदण्डको धज्जी उडाएर जिल्ला कार्यसमितिले मनोमानी ढंगले उम्मेदवार सिफारिस गर्नु इतिहासकै कलंकित निर्णय भएको उनीहरूको भनाइ छ। यस्ता प्रवृत्तिले कांग्रेसलाई थप कमजोर गराउने र युवाहरूको मनोबलमा असर पुग्ने उनीहरूको ठहर छ।

‘हाम्रो युवाहरूको टोली निर्णय सच्चाउन काठमाडौं पुग्ने छौं,' क्षेत्रीय उपसभाति पोख्रेलले भने, ‘जिल्लाले सुनुवाइ नगरेपछि हामी केन्द्रमा गएर भए पनि निर्णय सच्चाउन दबाब दिने छौं।’

प्रकाशित: ४ पुस २०८२ ११:४८ शुक्रबार