प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत सुर्खेत जिल्लाका दुवै निर्वाचन क्षेत्रको प्रारम्भिक मतगणनामा रोचक प्रतिस्पर्धा देखिएको छ। पछिल्लो विवरण अनुसार क्षेत्र नं. १ मा नेपाली कांग्रेस र क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रता सुरक्षित राखेका छन्।
सुर्खेत निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णु बहादुर खड्का ९ हजार २ सय २ मतका साथ अग्रस्थानमा छन्। उनलाई नेकपा एमालेका ध्रुवकुमार शाहीले ६ हजार ५ सय ४५ मतका साथ पछ्याइरहेका छन्। रास्वपाका टेक बहादुर सिंह ठकुरी ५ हजार ३ सय ५३ मतसहित तेस्रो स्थानमा छन् भने नेपाली कम्युनिष्ट पार्टीका जित बहादुर रानाले ७ सय ३३ मत प्राप्त गरेका छन्।
सुर्खेत निर्वाचन क्षेत्र नं. २ मा भने रास्वपाका उम्मेदवार रमेश कुमार सापकोटाले अग्रता लिएका छन्। सापकोटा ५ हजार ९ सय ८८ मतका साथ पहिलो स्थानमा छन्। उनलाई नेपाली कांग्रेसका नारायण कुमार कोइरालाले ५ हजार १ सय ४२ मतका साथ कडा टक्कर दिइरहेका छन्। नेकपा एमालेका कुलमणि देवकोटा ४ हजार ७५ र नेपाली कम्युनिष्ट पार्टीका झक बहादुर मल्ल २ हजार १ सय ६ मतका साथ प्रतिस्पर्धामा छन्।
प्रकाशित: २३ फाल्गुन २०८२ ००:४६ शनिबार