राजनीति

मुलुकको संकट र भ्रष्ट व्यवस्थाको मुख्य जिम्मेवार कांग्रेस र कम्युनिष्ट हुन्: थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विद्यमान संकट, अस्थिरता र भ्रष्ट व्यवस्थाको मुख्य जिम्मेवार नेपाली कांग्रेस र कम्युनिष्ट दलहरू भएको आरोप लगाएका छन्।

बुधबार आयोजित एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्मनिरपेक्षता, गणतन्त्र र अहिलेको शासकीय स्वरूपको संवाहक यिनै दलहरू भएको भन्दै मुलुकको दुर्दशाको भागीदार पनि उनीहरू नै हुनुपर्ने बताएका हुन्।

थापाले भने, ‘अहिलेको संकटको प्रमुख संवाहक कांग्रेस र कम्युनिष्ट हुन्। धर्मनिरपेक्षता र गणतन्त्रका संवाहक पनि यिनै हुन्। भ्रष्ट व्यवस्था र भ्रष्ट शासनका पृष्ठपोषक पनि कांग्रेस र कम्युनिष्ट नै हुन्।’

अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्ट दलहरूबाट जनताले चाहेको परिवर्तन र निकास सम्भव नरहेको ठोकुवा गरे।

उनले यी दलहरू सत्तामा रहँदा वा नरहँदा, एक्लै आउँदा वा गठबन्धन गरेर आउँदा पनि मुलुकले निकास नपाउने जिकिर गरे।

‘उनीहरू चाहे मिलेर आउन्, चाहे एक्लै आउन्, उनीहरूले अहिलेकै भ्रष्ट व्यवस्थाको शृङ्खलालाई निरन्तरता दिने मात्रै हो,’ थापाले भने, ‘त्यसैले कांग्रेस र कम्युनिष्टबाट अब जनताले अपेक्षा गरेको परिवर्तन हुन सक्दैन।’

उनले दशकौंदेखि सत्ताको वरिपरि रहेका यी दलहरूले संस्थागत गरेको कुशासन र भ्रष्ट परिपाटीका कारण देश गम्भीर मोडमा पुगेको टिप्पणी गरे।

प्रकाशित: १६ पुस २०८२ १७:३५ बुधबार