राजनीति

कांग्रेसमा ‘जरा अभियान’ सुरु, १५ औं महाधिवेशनमा भाग लिन कांग्रेस आईडी अनिवार्य

फाइल।

नेपाली कांग्रेसले १५ औं महाधिवेशनको तयारीसँगै पार्टीलाई तल्लो तहसम्म चलायमान बनाउन ‘जरा अभियान’ सुरु गरेको छ।

केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरेपछि महामन्त्री प्रदीप पौडेलले शनिबारदेखि यो अभियान प्रारम्भ भएको बताएका हुन्।

महामन्त्री पौडेलका अनुसार १५औं महाधिवेशनमा सहभागी हुन हरेक क्रियाशील सदस्यले कांग्रेस आईडी लिनु अनिवार्य गरिएको छ।

वैशाख महिनाभर चल्ने सदस्यता अद्यावधिक अभियानमा पुराना सदस्यले आफू रहेको वडा वा भूगोलबाटै सदस्यता नवीकरण गर्नुपर्नेछ।

‘कांग्रेस आईडी नभएको अवस्थामा पुरानो सदस्यता अद्यावधिक भएको मानिने छैन र त्यस्तो व्यक्ति महाधिवेशनमा सहभागी हुन सक्ने स्थिति हुँदैन,’ पौडेलले भनेका छन्।

उनले यो प्रक्रिया छान्ने वा नछान्ने विषय नभई सबैका लागि अनिवार्य भएको सुनाए। नयाँ सदस्यलाई विधानबमोजिम डिजिटल रूपमै सदस्यता र आईडी प्रदान गरिने व्यवस्था मिलाइएको छ।

यसका लागि पुराना सदस्यहरूले भर्नुपर्ने फारम र आवश्यक निर्देशिका केन्द्रीय कार्यालयले तयार पारेर प्रतिनिधिहरूमार्फत पठाएको छ।

यस अभियानका लागि पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। खटिएका प्रतिनिधिहरूले जिल्लादेखि वडा तहसम्म पुगेर पार्टी र भ्रातृ संगठनहरूको साङ्गठनिक अवस्थाको अध्ययन गर्नेछन्।

जिल्ला, क्षेत्र र केन्द्रले अद्यावधिक गर्नुपर्ने कामहरूको जानकारी लिएर उनीहरूले प्रतिवेदन बुझाउनेछन्। प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र टीओआर उपलब्ध गराएर जिल्ला पठाइएको पौडेलले जानकारी दिएका छन्।

खटिएका नेताहरूले स्थानीय कमिटीसँग समन्वय गरेर सदस्यता वितरण र नवीकरणको कामलाई व्यवस्थित बनाउनेछन्।

सङ्गठन निर्माणसँगै कांग्रेसले नागरिकस्तरमा अन्तरक्रिया गर्ने योजना बनाएको छ। महामन्त्री पौडेलले केन्द्रीय समितिको निर्णयअनुसार नागरिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने बताएका छन्।

यसअन्तर्गत जिल्ला तहमा रहेका बुद्धिजीवी, पेसाकर्मी, युवा र समाजका विभिन्न तप्काका नागरिकसँग सभापतिको नेतृत्वमा छलफल गरिनेछ।

‘कांग्रेसले किन चुनाव हार्‍यो र अब पार्टीलाई पुनर्जीवित गर्न के गर्नुपर्छ भन्ने विषयमा राष्ट्रिय स्तरमै नागरिकसँग संवाद गर्नेछौं,’ पौडेलले सुनाए।

त्यसैगरी, पार्टीलाई सामाजिक गतिविधिहरूसँग जोड्ने नीति पनि कांग्रेसले लिएको छ। स्थानीय आवश्यकताका आधारमा सामाजिक काममा पार्टी पङ्क्तिलाई सक्रिय बनाउँदै जनस्तरमा कांग्रेसको उपस्थिति बलियो बनाउने लक्ष्य राखिएको छ।

प्रकाशित: २१ चैत्र २०८२ १७:४३ शनिबार