राजनीति

महाधिवेशन नरोके कांग्रेस विभाजन हुन्छ, गगनजीलाई सभापति मान्न तयार छौं: लेखक

फाइल।

नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको १५ औं महाधिवेशन प्रक्रिया तत्काल नरोके पार्टी विभाजनको दिशामा जाने चेतावनी दिएका छन्।

पार्टी सभापति गगन थापालाई नै निरन्तरता दिन आफूहरू तयार रहेको भए पनि महाधिवेशन जबरजस्ती अघि बढाउन खोजिए पार्टी फुट्ने उनको जिकिर छ।

कञ्चनपुरको दोधारा-चाँदनीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता लेखकले पार्टी एकता जोगाउन आफूहरूले अधिकतम लचकता अपनाइरहेको दाबी गरे।

उनले भने, ‘अहिले पनि उपाय बाँकी छ। आ-आफ्नो ठाउँबाट महाधिवेशन रोकौं। यदि महाधिवेशन रोकिएन भने पार्टी विभाजन हुन्छ।’

पार्टी एकताका लागि आफूहरूले विगत ११ महिनादेखि निरन्तर संवाद र प्रयास गरिरहेको भन्दै लेखकले सभापति फेर्ने पक्षमा आफूहरू नरहेको सुनाए।

‘हामीले गगनजीलाई नै सभापति मान्ने गरी पार्टी मिलाउने प्रयास गरेका हौं, तर मिल्न सकिरहेको छैन,’ लेखकले भने, ‘उहाँलाई हटाउने हाम्रो माग होइन, तर समझदारीका लागि तयार हुनुपर्छ।’

विवाद समाधानका लागि नेता लेखकले विशेष महाधिवेशन र १४ औं महाधिवेशनबाट बनेका कार्यसमितिलाई एकै ठाउँमा ल्याउनुपर्ने विकल्प प्रस्तुत गरे।

चौधौं महाधिवेशनमा रहेका तर विशेष महाधिवेशनबाट छुटेका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा अनिवार्य रूपमा समेट्नुपर्ने उनको अडान छ।

त्यस्तै, पार्टीका महत्त्वपूर्ण समितिहरूमा सभापति थापालाई नै बहुमत दिन सकिने लचिलो प्रस्तावसमेत उनले अघि सारे। निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति र अनुशासन समितिमा सभापति थापाले नै संयोजक तोक्न र आफ्नो पक्षको बहुमत राख्न सक्ने उल्लेख गर्दै लेखकले ती समितिहरूमा अन्य समूहबाट कम्तीमा ए-एक जना प्रतिनिधि भने अनिवार्य राखिनुपर्ने धारणा राखे।

प्रकाशित: २१ भाद्र २०८३ १६:१२ आइतबार