उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले त्रिशूली नदीमा आएको बाढीपछि भूमिगत विद्युतगृह तथा सुरुङमा फसेका सबै व्यक्तिको खोज तथा सकुशल उद्धारमा तत्काल ध्यान केन्द्रित गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
भदौ १० गते त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युतगृहको भूमिगत विद्युतगृहमा फसेका नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरूको जीवितै उद्धार सुरु भएको खबरले आफूलाई अत्यन्तै खुसी र राहतको अनुभूति भएको घिसिङले बताएका छन्।
माथिल्लो त्रिशूली–३ ‘ए’ मा फसेकाहरूको उद्धार सुरु भएसँगै रसुवागढी र चिलिमे जलविद्युत केन्द्रका भूमिगत विद्युतगृह तथा माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘बी’ र लाङटाङ खोला जलविद्युत आयोजनाका सुरुङमा फसेका व्यक्तिहरू पनि सकुशल रहेको आशा र विश्वास थप बलियो भएको उनको भनाइ छ।
'भदौ १० गते त्रिशूली नदीमा आएको प्रलयकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ए जलविद्युतगृहको भूमिगत विद्युतगृहमा फस्नुभएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी साथीहरूको सकुशल जिवितै उद्धार सुरु भएको खबरले अत्यन्तै खुसी र राहतको अनुभूति भएको छ,' उनले सामाजिक सञ्जालमा भनेका छन्, 'यस घटनाबाट रसुवागढी र चिलिमे जलविद्युत केन्द्रका भूमिगत विद्युतगृह तथा माथिल्लो त्रिशूली–१, अप्पर त्रिशुली ३ वि र लाङटाङ खोला जलविद्युत आयोजनाका सुरुङमा फस्नुभएका व्यक्तिहरू पनि सकुशल रहेको आशा र विश्वास थप बलियो भएको छ।'
घिसिङले रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१, माथिल्लो त्रिशूली–३ ‘बी’ र लाङटाङ खोला जलविद्युत आयोजनामा फसेका सबै व्यक्तिको खोजी तथा सकुशल उद्धारलाई उच्च प्राथमिकतामा राख्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराएका छन्।
'रसुवागढी, चिलिमे, माथिल्लो त्रिशूली–१, अप्पर त्रिशुली ३ वि र लाङटाङ खोला जलविद्युत आयोजनामा फस्नुभएका सबै व्यक्तिको खोज तथा सकुशल उद्धारमा तत्काल र तदारुकताका साथ ध्यान केन्द्रित गर्न सम्बन्धित सम्पूर्ण निकायको गम्भीर ध्यानाकर्षण गराउँदछु,' उनले भने।
उनले उद्धार कार्यमा आफ्नो विज्ञता, प्राविधिक क्षमता र उपलब्ध साधन–स्रोतअनुसार हरसम्भव सहयोग भइरहेको र आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता जनाएका छन्।
घिसिङले उद्धारमा अहोरात्र खटिएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।
उनले भनेका छन्, 'उद्धारका लागि अहोरात्र खटिनुभएका उद्धारकर्मी, सुरक्षाकर्मी, प्राविधिक तथा सहयोगी सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धेरै–धेरै धन्यवाद।'
प्रकाशित: १९ भाद्र २०८३ ११:४४ शुक्रबार