राजनीति

भण्डारीबारे कांग्रेसको धारणा: राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किनु सुहाउँदैन

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू। तस्बिर: रासस।

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किनु उचित नहुने धारणा सार्वजनिक गरेको छ। मङ्गलबार (आज) पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भेला भएका कांग्रेसका पूर्वपदाधिकारीहरूको भेलाले यस्तो धारणा सार्वजनिक गरेको हो।

भेलामा सहभागी पूर्वउपसभापति गोपानमान श्रेष्ठले भने, ‘राष्ट्रपति भइसकेपछि पुन: पार्टीको राजनीतिमा फर्किनु उचित हुँदैन। राष्ट्रपति त देशकै सर्वश्रेष्ठ पद हो। यो पदमा पुगिसकेको मान्छे फेरि राजनीतिमा फर्किन सुहाउँदैन। भन्ने कुरा भयो। सभापति (शेरबहादुर देउवा) को पनि यही धारणा रह्यो।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत असार १४ गते सक्रिय पार्टी राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छन्। नेकपा (एमाले) उपाध्यक्ष पद त्यागेर दुई कार्यकाल राष्ट्रपति बनेकी भण्डारीले अहिले पार्टी अध्यक्षमा नजर लगाइरहेकी छन्।

उता एमालेले भने भण्डारीको सङ्गठित सदस्यता ‘पेन्डिङ’मा रहेको बताएको छ। यसपछि उनले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि संवाद गरिसकेकी छन्। संवादका क्रममा उनले आफू पनि अगाडि बढिसकेको बताएको चर्चा छ। यही पृष्ठभूमिमा सबैभन्दा ठूलो दल कांग्रेसले पनि चासो व्यक्त गर्दै सक्रिय राजनीतिमा सक्रिय हुन उचित नहुने प्रतिक्रिया दिएको हो।

प्रकाशित: ६ श्रावण २०८२ १४:२९ मंगलबार

#Bidya Bhandari #congress #Nagariknews