सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीमा परी उद्धार गरिएका तथा त्रिवि शिक्षण अस्पतालमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।
सञ्चारमन्त्री तिमिल्सिनाले शुक्रबार दिउँसो शिक्षण अस्पताल पुगेर बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारका लागि गरिएको प्रबन्ध तथा अस्पतालको समग्र व्यवस्थापनबारे अस्पतालका अधिकारीहरूसँग जानकारी लिएका हुन्।
रसुवामा भदौ १० गते आएको बाढीपछि उद्धार गरी उपचारका लागि ल्याइएका ७८ जनामध्ये शुक्रबार बिहान ९ बजेसम्म २९ जना उपचाररत छन्। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका अन्य व्यक्तिलाई अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ।
अस्पतालका अधिकारीहरूले बाढीपीडितहरूको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिहरूले अस्पतालबाट सहज रूपमा स्वास्थ्य सेवा पाइरहेको जानकारी मन्त्री तिमिल्सिनालाई गराएका छन्।
सञ्चारमन्त्री तिमिल्सिनाले विपद्का समयमा घाइते तथा प्रभावित नागरिकको उपचार र आवश्यक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र व्यवस्थापन गर्न आग्रह गरेका छन्।
प्रकाशित: १९ भाद्र २०८३ १७:२३ शुक्रबार