राजनीति

ओली र लेखकको बयान दसैँपछि लिने जाँचबुझ आयोगको तयारी

जेन–जी आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको बयान दसैँपछि लिने जनाएको छ। दुवैपनाको राहदानी रोक्का गर्न हतार गरेको पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले बयान भने दसैँपछि लिने जनाएको हो। 

आयोगले आइतबार मात्रै ओली, लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको विदेश यात्रामा रोक लगाउँदै काठमाडौं उपत्यकाबाहिर जाँदा अनुमति लिएर मात्रै जानुपर्ने निर्देशन जारी गरेको थियो। 

भदौ २३ र २४ भएको जेन–जी आन्दोलनका क्रममा भएको दमनबारे आयोगले ओली र लेखकलाई पनि छानबिनको दायरामा तानेको जनाएको छ। यही कारण अनुसन्धानका लागि जति बेला पनि बोलाउनुपर्ने भन्दै विदेश यात्रामा रोक र अनुमतिबिना राजधानीबाहिर नजान निर्देशन गरेको भनेको छ। 

प्रकाशित: १३ आश्विन २०८२ १३:५३ सोमबार