निर्वाचन आयोगले कार्तिक मसान्तसम्म मतदाता नामावलीमा नाम दर्ता गराउनका लागि सबैमा आह्वान गरेको छ।
आयोगले बुधबार एक सूचना प्रकाशित गरी अनलाइन माध्यमबाट फाराम भरेर नामावलीमा नाम समावेश गर्न सकिने व्यवस्था गरेको हो।
आयोगका अनुसार, मतदाता नामावलीमा नाम दर्ता गर्न चाहने योग्य नागरिकले पहिले आयोगको वेबसाइट https://applyvr.election.gov.np/ मा गएर अनलाइन फाराम भर्नुपर्नेछ।
अनलाइन फाराम भरिसकेपछि जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउन र बायोमेट्रिक विवरण (औँठा छाप) प्रदान गर्न सकिनेछ।
काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाका लागि आयोगले निश्चित स्थान तोकेको छ। यी कार्यालयहरूमा गएर फोटो खिचाउने र बायोमेट्रिक विवरण बुझाउन सकिने आयोगले जनाएको छ।
आयोगले तोकिएको समयभित्र आफ्नो नाम दर्ता गरी मताधिकार सुनिश्चित गर्न सम्पूर्ण योग्य नागरिकहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: २२ आश्विन २०८२ १७:३१ बुधबार