स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई गम्भीर स्वास्थ्य समस्याका रूपमा बुझ्नुपर्ने बताएकी छन्।
संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप-३१) अन्तर्गत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र आईपीएएससँगको सहकार्यमा अन्ताल्यास्थित नेपाल पेभिलियनमा आयोजना गरेको विशेष छलफलको अध्यक्षता गर्दै मन्त्री मेहताले यस्तो धारणा राखेकी हुन्। उनले जलवायु परिवर्तनका असर कम गर्ने र त्यससँग अनुकूलन हुने सबै प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।
‘स्वास्थ्यलाई जलवायु कार्यको केन्द्रमा : विश्वव्यापी परिप्रेक्ष्य’ विषयक छलफलमा उनले बाढी, पहिरो, अत्यधिक गर्मी, रोगको बदलिँदो स्वरूप तथा पानी र खाद्य असुरक्षाजस्ता जलवायुजन्य जोखिमले जनस्वास्थ्यमा प्रत्यक्ष असर पारिरहेको बताइन्।
यस्ता विपद्ले स्वास्थ्य संस्थाका पूर्वाधारमा क्षति पुर्याउनुका साथै स्वास्थ्यकर्मी, औषधि तथा स्वास्थ्य सामग्रीको आपूर्ति र अत्यावश्यक स्वास्थ्य सेवा सञ्चालनमा समेत अवरोध सिर्जना गर्ने उनको भनाइ थियो।
नेपालको अनुभव प्रस्तुत गर्दै मन्त्री मेहताले रसुवामा गएको विनाशकारी बाढीले जनजीवन, जीविकोपार्जन र अत्यावश्यक स्वास्थ्य सेवामा पहुँचमा पारेको असरलाई जलवायु परिवर्तनबाट उत्पन्न स्वास्थ्य जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरिन्।
उनले नेपालजस्ता जलवायु जोखिममा रहेका तथा अल्पविकसित मुलुकलाई अन्तर्राष्ट्रिय जलवायु वित्तमा सहज, पूर्वानुमान गर्न सकिने र अनुदानमा आधारित पहुँच सुनिश्चित गर्न विकसित राष्ट्रहरूसँग आग्रह गरिन्।
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ययोजना, जलवायु वित्त र नीतिगत प्रतिबद्धतामा स्वास्थ्य क्षेत्रका सूचकहरूलाई समेत समेट्नुपर्ने उनले बताइन्।
त्यस्तै, जलवायु परिवर्तनका कारण हुने मृत्यु, रोग, मानसिक स्वास्थ्यमा पर्ने असर, स्वास्थ्य सेवा अवरुद्ध हुँदा हुने क्षति र स्वास्थ्य पूर्वाधारमा पर्ने प्रभावको आर्थिक तथा गैरआर्थिक मूल्याङ्कन गर्नुपर्नेमा उनले जोड दिइन्।
छलफलमा विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. ज्ञानेन्द्र घोगल, पाकिस्तानस्थित दस्तक फाउन्डेसनकी संस्थापक तथा कार्यकारी निर्देशक हिरा अमजद र नेपालका लागि संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक लिला पिटर्स याहियाले जलवायु परिवर्तन र स्वास्थ्यबीचको सम्बन्धबारे धारणा राखेका थिए।
वक्ताहरूले जलवायु परिवर्तनका कारण उत्पन्न स्वास्थ्य जोखिम न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय सहकार्य, नीतिगत प्रतिबद्धता र स्वास्थ्य प्रणालीलाई विपद् सामना गर्न सक्षम बनाउनुपर्ने आवश्यकता औंल्याएका थिए।
कार्यक्रमको अन्त्यमा मन्त्री मेहताले स्वस्थ नागरिकबिना उत्थानशील भविष्य सम्भव नहुने बताउँदै स्वस्थ नागरिकका लागि उत्थानशील पृथ्वी आवश्यक रहेको उल्लेख गरिन्। उनले जलवायु परिवर्तनसम्बन्धी हरेक कार्ययोजनाको केन्द्रमा स्वास्थ्य क्षेत्रलाई राख्नुपर्ने सन्देश दिइन्।
प्रकाशित: २३ कार्तिक २०८३ १६:१८ सोमबार



