राजनीति

जलवायु परिवर्तनमा २००९ मै विश्वको ध्यानाकर्षण गराएको हो : माधव नेपाल

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको जोखिमबारे आफूले सन् २००९ मै विश्व समुदायको ध्यानाकर्षण गराएको बताएका छन्। 

बुधबार सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपालले आफू प्रधानमन्त्री हुँदा जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाएको स्मरण गरे। सन् २००९ डिसेम्बर ४ मा सगरमाथाको आधार शिविरमा जलवायु परिवर्तनकै विषयमा मन्त्रिपरिषद्को बैठक आयोजना गरिएको बताए। 

उक्त बैठकले ‘सगरमाथा घोषणापत्र’ जारी गरेको र त्यसबाट जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएको असरबारे विश्वको ध्यानाकर्षण गराइएको उनले बताए। 

नेपालले डेनमार्कको कोपनहेगनमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पनि आफू सहभागी भएर नेपालको समस्या विश्व समुदायसमक्ष राखेको बताए। 

उनले नेपाल हिमाली तथा हिमनदीको ठूलो भण्डार भएको मुलुक भएकाले जलवायु परिवर्तनको असरबाट गम्भीर जोखिममा रहेको उल्लेख गरे। समुद्री टापु तथा तटीय मुलुकले भोगिरहेका समस्यासँगै हिमाली मुलुकका समस्यालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्राथमिकताका साथ उठाउनुपर्ने उनको भनाइ थियो। 

जलवायु परिवर्तनका कारण हिमालमा हिउँ पग्लिने, समुद्रको सतह बढ्ने र बस्ती तथा जनजीवनमा असर पर्ने अवस्था देखिएको भन्दै नेपालले क्षतिपूर्ति तथा जलवायु न्यायको विषयलाई बलियो रूपमा उठाउनुपर्ने उनले बताए। 

नेपालले आफू प्रधानमन्त्री हुँदा वातावरण मन्त्रालय गठन गरिएको र जलवायु परिवर्तनसँग सम्बन्धित नीति तथा संरचना निर्माणको काम गरेको बताए।  

प्रकाशित: ३१ भाद्र २०८३ १६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App