राजनीति

विपद्‍मा नागरिकले सरकार साथमा भएको अनुभूति गर्न पाउनुपर्छ : गणेश पराजुली

रास्वपा संसदीय दलको उपनेता गणेश पराजुलीले देशले अहिलेसम्मकै सबैभन्दा भयावह प्राकृतिक माहाविपत्ति मध्यको महाप्रलयको सामना गर्नुपरेको बताएका छन्।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भोटेकोशी बाढीले इतिहाससँग जोडिएको त्रिशुली सभ्यता नै निमिट्यान्न पारिदिएको बताए।

उनले भने, ‘भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा प्रवेश गर्दा हजारौँ परिवारको जीवन क्षणभरमै समाप्त मात्र भएन, हजारौं परिवारलाई विचलित बनायो, आकलन नै गर्न नसक्ने भौतिक क्षति त छँदैछ, इतिहाससँग जोडिएको त्रिशुली सभ्यता नै निमिट्यान्न पारिदियो।’

यस्तै, उनले बाढीबाट अकल्पनीय क्षति पुगेको बताउँदै भौगोलिक जटिलताका कारण उद्दारमा जटिलता भएको बताए। उनले भने,‘सुरुङभित्र मात्र होइन सुरुङ बाहिर पनि जटिल भौगोलिक बनोट तथा कठिन खोंचहरू भएका कैयौं ठाउँमा फसेका नागरिकहरूलाई उद्धार गर्ने र राहत पुर्‍याउने प्रयास सहज रुपमा हुन सकेको छैन।’

नेपालसँग ठूलो महाविपत्तिमा स्रोत–साधन, प्रविधि र उद्धार क्षमता पर्याप्त छैनन् भन्ने यथार्थ स्वीकार्नुपर्ने बताउँदै उनले भने,‘अभाव र सीमितताका बीच उपलब्ध स्रोत, साधन र प्रविधिको अधिकतम उपयोग गर्दै नागरिकको जीवन बचाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, स्थानीय प्रशासन, विपद् व्यवस्थापन संयन्त्रदेखि स्वयंसेवकसम्म अहोरात्र खटिएका छन्।’

महाविपत्तिको सबैभन्दा कठिन घडीमा एउटा नागरिकले “म एक्लो छैन, मेरो राज्य मेरो खोजीमा छ, राज्यसँग भएको सम्पूर्ण शक्ति, ज्ञान, प्रविधि र संयन्त्र मेरो जीवन बचाउन परिचालित छ” भन्ने अनुभूति गर्न पाउनुपर्ने उनले बताए।

यस्तै, उनले जिम्मेवारीमा रहेको नेतृत्व भावनामा बहकिएर वा आफ्नो प्राथमिक दायित्वबाट विचलित हुँदा त्यसको असर सिंगो राज्य संयन्त्रको प्रभावकारितामा पर्न सक्ने बताउँदै राज्य दरिलो, संयमित र निर्णय क्षमता प्रस्तुत गर्नसक्ने नेतृत्व आफ्नो जिम्मेवारीको केन्द्रमा निरन्तर उपस्थित हुनुपर्ने बताए।

प्रकाशित: १७ भाद्र २०८३ १४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App