राजनीति

नागरिकले ज्यानभन्दा समस्या ठूलो देख्न थाले, रोक्न सरकारको योजना के छ ?

नेपालमा आत्महत्याको दर निरन्तर बढ्दै गएकोप्रति राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले गम्भीर चिन्ता व्यक्त गर्दै यसको न्यूनीकरणका लागि राज्यको ठोस र प्रभावकारी योजना माग गरेका छन् ।

बिहीबार राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद घिमिरेले आत्महत्या केवल व्यक्तिगत समस्या नभई गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्य चुनौतीका रूपमा देखा परिसकेको भन्दै यसको रोकथाममा सरकारको तत्काल र विशेष पहलकदमी आवश्यक रहेको बताए ।

विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भ उल्लेख गर्दै उनले नेपालमा वर्षेनी ७ हजारभन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको तथ्य प्रस्तुत गरे । उनका अनुसार मुलुकमा दैनिक औसत १९ देखि २० जनाले आफ्नो जीवन गुमाइरहेका छन् ।

‘दैनिक करिब २० जना नेपालीले अकालमै ज्यान गुमाइरहेको अवस्था सामान्य होइन,’ भन्ने आशय व्यक्त गर्दै उनले आत्महत्याको यो भयावह क्रम रोक्न सरकारले तत्काल प्रभावकारी नीति, कार्यक्रम र संयन्त्र अघि बढाउनुपर्नेमा जोड दिए ।

आत्महत्याको दर घट्नुको सट्टा बढ्दै जानुका कारण पहिचान गर्दै मानसिक स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, जोखिममा रहेका व्यक्तिको पहिचान तथा समुदायस्तरमा रोकथामका कार्यक्रम सञ्चालन गर्न सरकारसँग उनले माग गरे । साथै, आत्महत्या न्यूनीकरणका लागि सरकारले हालसम्म के–कस्ता योजना तथा कार्यक्रम अघि सारेको छ भन्नेबारे राष्ट्रिय सभा अध्यक्षमार्फत सदनलाई स्पष्ट जानकारी गराउनसमेत आग्रह गरे ।

यसैबीच, सांसद घिमिरेले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाएका नागरिकप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरे । उनले बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षणसमेत गराए ।

प्रकाशित: २५ भाद्र २०८३ १७:१५ बिहीबार