कांग्रेस सांसद गीता गुरुङले अहिले जनता नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजिरहेको बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सिंहदरबारको नाकैमुनि ग्यास खोज्दाखोज्दै सुत्केरी श्रीमतीलाई तातो खाना खुवाउन नसकेको निराशामा एक युवाले धोबीखोलामा हाम फालेर आत्महत्या गर्न खोजेको घटनाबारे सरकारलाई प्रश्न गरिन्।
‘नागरिकले नयाँ मन्त्रीभन्दा पनि ग्यास खोजेका छन्। मन्त्री त फेरिनुभयो, अब नागरिकको घरमा भएको रित्तो सिलिन्डर पनि फेरियोस्,’ उनले भनिन्।
सो अवसरमा उनले प्तरीमा आर्थिक अभावका कारण अस्पतालबाहिरै एक महिलाले बच्चा जन्माउनुपरेको घटनाले लज्जास्पद अवस्था देखाएको उनले बताइन्। गुरुङले प्रधानमन्त्री बालेन्द्र शाहको नियतमा अहिले नै धेरै शंका नगरे पनि अपेक्षित परिणाम आउन नसकेको उनको भनाइ थियो।
उनले सरकारले भोटेकोशी बाढीमा कति जनाको ज्यान गयो र कति बेपत्ता भए भन्ने आधिकारिक तथ्यांकसमेत दिन नसकेको बताइन्। क्षतिको यकिन विवरण सार्वजनिक गर्न ढिलाइ भएको भन्दै उनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम खर्च गर्न सरकार कुन साइत कुरिरहेको छ भन्दै प्रश्न गरिन्।
सांसद गुरुङले सोलुखुम्बुको हुंगा खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेको भन्दै हुंगा खोला र दूधकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरिन्। साथै, आवश्यक संयन्त्र परिचालन गर्न सरकारसँग अनुरोध गरिन्।
प्रकाशित: २६ भाद्र २०८३ १३:४६ शुक्रबार



